बार्सिलोनले दोस्रो पटक महिला च्याम्पियन्स लिग उपाधि जितेको छ। शनिबार राति भएको फाइलनमा जर्मन क्लब वुल्फ्सवर्गमाथि ३–२को सानदार पुनरागमन जित निकाल्दै बार्सिलोनाले दोस्रो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो।
यसअघि उसले सन् २०२०–२१मा पनि च्याम्पियन्स लिग उपाधि जितेको थियो । दोस्रो पटक च्याम्पियन बन्ने क्रममा बार्सिलोना २ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकाल्यो।
नेदरल्याड्सको फिलिप्स स्टेडियममा भएको खेलमा वुल्फ्सबर्गले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । तेस्रो मिनेटमा नै इवा पजोरको गोलबाट अग्रता लिएको उसका लागि ३७औं मिनेटमा अजेक्जेन्ड्रा पपले गोल गरेकी थिइन्।
तर दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । दोस्रो हाफको सुरुमै पात्री गिखारोले लगातार दुई गोल गर्दै खेललाई बराबरीमा पुर्याइन् । ४८औं मिनेटमा पहिलो गोल गरेकी उनले ५०औं मिनेटमा दोस्रो गोल थपेकी थिइन् ।
खेलको ७०औं मिनेटमा राल्फोले गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाइन् । बार्सिलोनाले त्यही अग्रता जोगाएर उपाधि जितेको छ । गत सिजन पनि फाइनलमा पुगेको बार्सिलोना लायोनसँग पराजित भएको थियो ।