डेनमार्कविरुद्ध बेल्जियमको कमब्याक जित, नकआउटमा पुग्न सफल

बेल्जियमले जारी युरोकपमा डेनमार्कविरुद्ध कमब्याक जित हात निकालेको छ। लगातार दोस्रो जित हात पार्दै बेल्जियमले नकआउट चरणमा आफ्नो स्थान पनि पक्का गरेको छ।

कोपनहेगनमा बिहीबार राति भएको खेलमा फस्टहाफमा १–० ले पछाडी परेको अवस्था उल्टाउँदै बेल्जियमले २–१ को जित निकालेको हो। युसुफ पलसेनले खेल सुरु भएको दोस्रो मिनेटमा गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए।

अन्तिम १६ मा बेल्जियमको स्थान पक्का गराउन केभिन डे ब्रुनले निर्णायक भूमिका खेलेका थिए। दोस्रो हाफमा सब्स्टिच्युटका रुपमा मैदान प्रवेश गरेका डे ब्रुनले एक गोल र एक असिस्ट गरेका थिए। बेल्जियमका लागि पहिलो गोल थोर्गन हजार्डले गरे।

म्यानचेस्टर सिटीका मिडफिल्डर डे ब्रुन चेल्सीविरुद्धको च्याम्पियन्स लिग फाइनलका क्रममा चोट लागेपछि मैदान बाहिर थिए। चोटका कारण उनले रुसविरुद्धको पहिलो खेल गुमाएका थिए।

यसैगरी, वेल्जियम र डेनमार्कबीचको खेल १०औं मिनेटमा एक मिनेटका लागि स्थगित गरिएको थियो। डेनमार्क र फिनल्यान्डबीचको खेलका क्रममा हर्टअट्याकका कारण मैदानमै ढलेका डेनमार्कका स्टार खेलाडी क्रिस्टेन एरिक्सनको सम्मान तथा स्वास्थ्य लाभको कामनाका लागि खेल रोकिएको थियो। त्यसक्रममा दुवै टिमका खेलाडीहरुले भावुक हुँदै ताली बजाएर एरिक्सनको साहसको कदर गरेका थिए।

फिनल्यान्डविरुद्धको सो खेल डेनमार्कले १–० ले गुमाएको थियो। उत्कृष्ट खेलका बावजुद दुवै खेलमा हार बेहोरेपछि डेनमार्कको नकआउट चरण पुग्ने सम्भावना कम भएको छ।

Facebook Comments Box