बेल्जियमसँग हार्‍यो पोर्चुगल, अन्तिम १६ बाटै टुंगियो रोनाल्डोको युरोकप यात्रा

युरोकपको डिफेन्डिङ च्याम्पियन पोर्चुगल विश्व नं. १ टिम बेल्जियमसँग पराजित भएको छ। स्पेनको सेभियामा भएको खेलमा बेल्जियम १-० ले विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ।

बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि अर्को दाबेदार टिम इटालीको सामना गर्नेछ। बेल्जियमका लागि विजयी गोल थोर्गन हजार्डले ४२औं मिनेटमा गरेका थिए।

बेल्जियमले पोर्चुगलविरुद्ध ३२ वर्षपछि जित निकाल्न सफल भएको हो। बेल्जियम कीर्तिमानी लगातार ५ प्रतिस्पर्धात्मक खेलमा जित निकाल्न पनि सफल भएको छ। यसअघि उसले विश्वकप दौरान लगातार ५ खेलमा जित निकालेको थियो। प्रशिक्षक रोबर्टो मार्टिनेजले बेल्जियमको टिम सम्हालेयता बेल्जियमले विश्वकप र युरोकपमा खेलेको पछिल्ला ११ खेलमध्ये १० खेलमा जित निकाल्न सफल भएको हो।

खेलका हरेक पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै बेल्जियमलाई खेलभर दवाबमा राखेपनि पोर्चुगलले जित निकाल्न सकेन। पोर्चुगलका सटहरु कहिले गोलकिपर थिबाउट कुर्टोआले जोगाएका थिए त कति क्रसबारमा लागेर फर्किएका थिए।

यससँगै रोनाल्डोको युरोकप यात्रामा पनि पूर्णविराम लागेको छ। हाल ३६ वर्षका रोनाल्डो अर्को संस्करणको युरोकप आयोजना हुँदा ४० वर्ष पुगिसकेका हुनेछन्। त्यसैले उनले अर्को युरोकपमा सहभागी हुने सम्भावना अत्यन्तै न्यून छ।

यद्यपी, शारीरिक रुपमा निकै फिट रोनाल्डो ४ वर्षपछि तन्दुरुस्त रहँदै पोर्चुगलको टिममा पर्न सक्ने सम्भावनालाई पूर्णरुपमा नकार्न भने सकिन्न।

जारी युरोकपमा ५ गोल गरेका रोनाल्डोले युरोपियन गोल्डेन बुटको दाबेदारीमा शीर्षस्थानमा रहँदै जारी युरोकपमा थुप्रै रेकर्ड राख्न सफल भए। उनी सबैभन्दा धेरै युरोकपमा सहभागी हुने खेलाडी बन्नुका साथै युरोकपमा सर्वाधिक गोल (१४) गर्ने खेलाडी पनि बनेका छन्।

साथै, फ्रान्सविरुद्धको समूह चरणको खेलमा दुई गोल गर्दै उनले अलि दाईको सर्वाधिक अन्तर्राष्ट्र्यि गोलको रेकर्ड बराबरी पनि गरेका थिए। अन्तिम १६ बाट बाहिरिएसँगै रोनाल्डोको कीर्तिमानी युरोकप यात्रा यहीँ टुंगिएको छ।

बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि इटालीको सामना गर्नेछ। हाल विश्वकै उत्कृष्ट मिडफिल्डरमध्येमा पर्ने केभिन डे ब्रुन चोटका कारण दोस्रो हाफको सुरुतिरै मैदान छाड्न वाध्य भएकाले बेल्जियमका लागि सेमिफाइनल यात्रा सहज हुनेछैन।

उनी इटालीविरुद्ध खेलन सक्षम हुनेछन् वा छैनन् अहिले टुंगो नलागिसकेका भएतापनि उनी बिना जित निकाल्न भने बेल्जियमलाई हम्मेहम्मे नै पर्नेछ।

Facebook Comments Box