
भद्रपुर झापा गोल्डकप : मनिष डाँगीको गोलमा संकटा सेमिफाइनलमा
मनिष डाँगीको निर्णायक गोलसँगै संकटा क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबारको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक क्लब भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो।
मनिषले खेल सुरु भएको पाँचौं मिनेटमै गोल गर्दै संकटलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
घरेलु मैदान र दर्शकको राम्रो साथ पाएको आयोजक भद्रपुरले खेलअवधिभर गोल फर्काउन निकै मेहनत गर्यो । संकटाको गोलपोस्टमा दर्जनबढी आक्रमण बुने पनि बललाई गोलपोस्टको दिशा दिन नसक्दा आयोजक भद्रपुर स्तब्ध बन्यो।
पूर्व स्टार खेलाडी हरि खड्काको प्रशिक्षणमा मैदानमा उत्रिएको भद्रपुर कलेक्सन टिम भए पनि खेलमा भने राम्रो तालमेल बनाएको थियो । खेलमा म्यान अफ द म्याच संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापा भए । उनले नगद २० हजार रुपैयाँ प्राप्त गरे।
बुधबार लिग विजेता मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेडबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ । फागुन १६ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेता टिमले नगद १३ लाख तथा उपविजेता टिमले नगद ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।