
झापा गोल्डकपको सट्टा भद्रपुर झापा गोल्डकप, विजेतालाई १३ लाख
डोमलाल राजवंशी रंगशालामा हुँदै भएको झापा गोल्डकपको सट्टा यो पटक भद्रपुर झापा गोल्डकप आयोजना गरिने भएको छ। प्रतियोगिता मेची रंगशालामा फागुन अन्तिम साताबाट आयोजना हुने छ।
मेची रंगशालामा बिहीबार आयोजित पत्रकार सम्मेलमा झापा गोल्डकप स्थगित गरेर भद्रपुर झापा गोल्डकप आयोजना गर्न लागिएको जानकारी दिइयो। प्रतियोगिताको मिति भने एन्फासँग छलफल गरेर सार्वजनिक गरिने बताइएको छ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १३ लाख रुपैयाँसहित प्राप्त गर्ने छ। यस्तै, उपविजेताले ७ लाख रुपैयाँ पाउने जानकारी दिइयो। सो अवसरमा प्रतियोगिताका लागि मेची रंगशालामा स्तरोन्नतिको काम भइरहेको पनि जानकारी दिइयो।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लब र विदेशी टिमसहित कुल १० टिम सहभागी हुने छन्।
प्रतियोगिताका आयोजनाका लागि कुल कुल १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान आयोजकको छ । त्यसमध्ये ३० लाख रुपैयाँ भद्रपुर नगरपालिकाले छुट्याएको छ । बाँकी रकम स्पोन्सरसिपबाट उठाउने लक्ष्य आयोजकको छ।