इपिएलमा ठूला क्लब विजयी, लिभरपुल शीर्षस्थानमै

इंग्लिस प्रिमियर लिग (इपिएल) को २८ औं हप्तामा टोटेनह्यामबाहेक सबै ‘बिग सिक्स’ क्लब विजयी भएका छन् । लिभरपुल, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र आर्सनलले जित निकाल्दा टोटेनह्याम भने लण्डन डर्बीमा चेल्सीसँग पराजित भयो ।

वाट्फोर्डको पोस्टमा लिभरपुलको ५ गोल

बुधबार राति एन्डफिल्डमा भएको खेलमा लिग लिडर लिभरपुलले वाट्फोर्डमाथि ५–० को पराकिलो जित निकाल्यो । घरेलु मैदानमा लिभरपुललाई सहज जित दिलाउन साडियो माने र भिर्गिल भान डिज्कले २– गोल गरे भने अर्को गोल यस्तै डिभोक ओरिगीले गरे ।

लिभरपुलले नवौं मिनेटमा मानेको गोलमा सुरुवाती अग्रता लिएको थियो । २०औं मिनेटमा मानेले पुनः गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । यस्तै ६६औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलले ३–० को अग्रता लियो ।

एकपक्षीय खेलको ३ मिनेटमा भानडिज्कले २ गोल गर्दै लिभरफुललाई सहज जित दिलाए । उनले खेलको ७९ र ८२औं मिनेटमा गोल गरेका थिए ।

म्यान्चेस्टर सिटीको कठीन जित

इपिएलको डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले भने कठीन जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले वेस्टह्यामलाई १–० ले पराजित गर्‍यो ।

सिटीका लागि स्टार स्ट्राइकर सर्जियो अगुएरोले निर्णयाक गोल गरे । उालने खेलको ५९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाए ।

लुकाकु चम्कँदा युनाइटेड को सहज जित

बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु चम्किएपछि म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ३–१ ले पराजित गर्‍यो ।

युनाइटेडलाई सहज जित दिलाउने क्रममा रोमेलु लुकाकुले दुई गोल गरे भने अर्को गोल एस्ले योङले गरे । खेलको ३३ र ५२औं मिनेटमा गोल गर्दै लुकाकुले युनाइटेडलाई २–० को अग्रता दिलाए ।
६६औं मिनेटमा जोएल वार्डले गोल गर्दै क्रिस्टल प्यालेसलाई खेलमा फर्काउने प्रयास गरे । ८३औं मिनेटमा योङले गोल गरेपछि खेल युनाइटेडले ३–१ ले जित्यो । जितसँगै युनाइटेडले सबै खाले प्रतियोगितामा ८ अबे खेल जित्दै नयाँ कीर्तिमान पनि बनायो ।

आर्सनलको फराकिलो जित

इपिएलको बुधबार राति भएको खेलमा आर्सनलले फराकिलो जित निकालेको छ । आर्सनलले बर्नेमाउथलाई ५–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मोसिट ओजिल, हेन्रिक मिखीटारियन, लौरेन्ट, पेरिक एम्रिक आबुमियाङ र एलेक्जेन्डर लाकजेट्सले एक–एक गोल गरे भने बर्नेमाउथका मौसेटले एक गोल फर्काए ।

लन्डन डर्बीमा चेल्सी विजयी

खराब प्रदर्शन गरिरहेको चेल्सीले इपिएलको लन्डन डर्बीमा २–०को सहज जित निकाल्दै आफू लयमा फर्किएको संकेत गरेको छ । बुधबार राति भएको लन्डन डर्बीमा चेल्सीले तेस्रो स्थानमा रहेको टोटनह्यामलाई २–० ले पराजित गर्‍यो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन पेड्रोले एक गोल गरे अर्को आत्मघाती भएको थियो । स्टामफोर्ड ब्रिजमा ५७औं मिनेटमा पेड्रोको गोलमा चेल्सीले अग्रता लियो । खेल सकिने ६ मिनेट बाँकी छँदा टोटनह्यामका केइरन ट्रिपिअरले आत्मघाती गोल गरेपछि खेल चेल्सीले २–०ले जित्यो ।

लिभरपुल शीर्ष स्थानमा, पछ्याउँदै सिटी

इपिएलको २८औं चरणको खेल सकिँदा लिभपुरल शीर्ष स्थानमा यथावत नै छ । उसले २८ खेलमा २१ जित निकाल्दै ६९ अंकका साथ शीर्ष स्थानमा छ । उसलाई सिटीले कडा टक्कर दिइरहेको छ । सिटीको २८ खेलमा ६८ अंक छ ।

यस्तै लन्डन डर्बीमा चेल्सीसँग पराजित टोटनह्याम ६० अंकका साथ तेस्रो स्थानमा छ भने ५६ अंकक जोडेको आर्सनल चौथो स्थानमा छ । यस्तै ५५ अंक बनाएको म्यान्चेस्टर युनाइटेड पाचौं स्थानमा रहँदा चेल्सी ५३ अंकका साथ छैठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *