इटालीको जुनियर टिममा खेलेका विकास च्यासलमा अनुबन्धित

इटालीमा व्यसायिक फुटबल खेलिरहेका नेपाली मुलका खेलाडी विकास मेराग्लियाले सहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्। मंगलबार मात्र नेपाल आएका विसकाले च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेल्ने भएका हुन्।

इटालीको यू–१६ टिमबाट खेलिसकेका १८ वर्षीय विंगर विकाससँग ए डिभिजन लिगका लागि च्यासलले शुक्रबार सम्झौता गरेको छ। च्यासलले विदेशी खेलाडीको रुपमा १ वर्षका लागि उनलाई अनुबन्धन गरेको हो।

विकासलाई अनुबन्धन गर्दै च्यासलले १० नम्बरको जर्सी पनि दिएको छ। ए डिभिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ।

इटालीको यू–१६ राष्ट्रिय टिम र भेनेजुएलाको यू १९ टिमबाट पनि खेलिसकेका विकास अहिले चौथो डिभिजन क्लब मारिग्लिनानेसबाट व्यवसायिक फुटबल खेल्छन्। गत जुलाईमा १ वर्षको सम्झौता गर्दै विकास मारिग्लियनेसमा आबद्ध भएका थिए।

विकास इटालियन सिरि ए क्लब एट्लान्टाको एकेडेमीको उत्पादन हुन् । उनले एट्लान्टाको युथ टिमबाट खेलेका छन्।

Facebook Comments Box