सन्न्यास लिँदै विराज महर्जन

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले त्रिदेशीय फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । पछिल्लो समय राष्ट्रिय टिममा पर्न असफल भएका विराजले घरेलु मैदान र दर्शकको अगाडि खेल्दै सन्यास लिन गर्न लागेका हुन् ।

उपाधि जितेको हिसाबले नेपालको सफल कप्तानको रुपमा विराजलाई लिइन्छ । उनकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं साग फुटबल जितेको थियो ।

यस्तै एएफसी सोलिडारिटी कपमा अनिल गुरुङ कप्तान भए पनि अधिकांश समय विराजले नै आर्मब्याण्ड लगाएर नेतृत्व गरेका थिए । सोलिडारिटी कपमा पनि नेपाल च्याम्पियन बनेको थियो ।

स्वीडिस प्रशिक्षक योहा कालिनको आगमनपछि विराज राष्ट्रिय टिममा पर्न संघर्षरत थिए । फिटनेसको कारण देखाउँदै उनलाई टिम बाहिर राखिएको थियो । २०२२ को फिफा विश्वकप छनोट अन्तर्गत नेपालले ५ खेल खेलिसक्का विराज टिममा पर्न सकेनन् ।

दशरथ रंगशालमा नेपालको सिनियर टिम करिब ६ वर्षपछि खेल्दैछ । नेपाली टिमको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने पक्का छ । तर, अहिलेसम्म नेपालको अन्तिम टोली घोषणा भएको छैन।

विश्वकप छनोटको तयारीका लागि प्रशिक्षणमा रहेका ३२ खेलाडीबाटै टिम छनोट गरिनेछ ।

अहिले घरेलु मैदानमै थ्री नेशन्स कप फुटबल हुँदैछ र विराजले पनि यसलाई उपयुक्त अवसरको रुपमा लिएका छन् । विराजले यस विषयमा अखिल नेपाल फुटबल संघ एन्फासंग पनि कुरा गरिसकेका छन् ।

अहिलेलाई नेपालको अन्तिम टोली घोषणा नभएकोले विराजले खेल्ने नखेल्ने निर्णय भएको छैन । तर अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार विराज थ्री नेशन्स कप खेल्ने टिममा हुनेछन् ।

यस्तोमा विराजले दशरथ रंगशालमा नेपालको राष्ट्रिय टिमको जर्सी लगाएर घरेलु दर्शकमाझ बिदा लिनेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.