
अलमुताइरीले बनाए संकटाका प्रशिक्षक विष्णु गुरुङलाई राष्ट्रिय टिम सहायक प्रशिक्षक
जारी ए डिभिजन लिगमा संकटा क्लबलाई उत्कृष्ट प्रदर्शन गराउन सफल युवा प्रशिक्षक विष्णु गुरुङ नेपाली राष्ट्रिय फुटबल टिमको कोचिङ स्टाफका रुपमा बन्द प्रशिक्षणमा सहभागी भएका छन्।
आसन्न मैत्रीपूर्ण खेलमा लागि आजबाट सुरु भएको बन्द प्रशिक्षणमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गुरुङलाई सहायक प्रशिक्षकका रुपमा बन्द प्रशिक्षणमा सहभागी गराएका छन्।
एन्फासँग छलफलपछि प्रशिक्षक अलमुताइरीले गुरुङलाई दोस्रो सहायक प्रशिक्षकमा रुपमा टिममा सहभागी गराएका हुन्। राष्ट्रिय टिमको सहायक प्रशिक्षकका रुपमा किरण श्रेष्ठ छन्।
प्रशिक्षक अलमुताइरीले विष्णु गुरुङलाई मरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि दोस्रो सहायक प्रशिक्षकको रुपमा राखेको बताएका छन्।
प्रशिक्षक गुरुङले राष्ट्रिय टिमको प्रशिक्षक टोलीमा समावेश हुँदा आफ्नो लागि सिक्ने अवसर हुने र सम्मानित महसुस भएको बताए । उनले प्रशिक्षकका रुपमा राष्ट्रिय टिममा सहभागी हुनु आफ्नो सपना भएको र यो एउटा सुरुआत भएको बताए।