ब्राजिलले आफ्नै देशका ८ खेलाडीलाई प्रिमियर लिगका क्लबबाट खेल्न लगायो प्रतिबन्ध

ब्राजिलले आफ्नो देशका आठ खेलाडीलाई इंग्लिस प्रिमियर लिग क्लबबाट खेल्न प्रतिबन्ध लगाउने भएको छ। ब्राजिलको फुटबल संघले फिफाकै नियम अनुसार आफ्ना ८ खेलाडीलाई ५ दिन प्रिमियर लिगका क्लबबाट खेल्न नदिने भएको हो।

कुनैपनि क्लबमा आबद्ध खेलाडीलाई राष्टिय टिमबाट खेल्न बोलावट आएमा क्लबले फुकुवा गर्नैपर्ने फिफाको नियम रहेको छ। यदि कुनै क्लबले खेलाडीलाई राष्टिय टिमका लागि खेल्न जान नदिएको खण्डमा इन्टरनेसनल ब्रेक सकिएपछि पाँच दिनसम्म ति खेलाडीलाई सो क्लबबाट खेल्न प्रतिबन्ध लगाउन पाउने फिफाको नियमावलीमा उल्लेख छ।

जारी इन्टरनेसनल ब्रेकमा ब्राजिलले विश्वकप छनोट खेलेको थियो। तर, विश्वकप छनोट खेल्न ब्राजिलले बोलाएका प्रिमियर लिगमा आबद्ध आठजना खेलाडीलाई कोरोनाभाइरसको कारण देखाउँदै सम्बिन्धित क्लबले पठाउन मानेनन्। जसकारण ब्राजिल फुटबल संघले फिफाको नियममा टेकेर ति खेलाडीलाई पाँच दिनको प्रतिबन्ध लगाउन लागेको हो।

कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण ब्राजिल अहिले स्वास्थ्य जोखिमको रेड लिस्टमा छ। जसकारण प्रिमियर लिगका क्लबहरुले आफ्ना खेलाडीलाई ब्राजिल जान दिएको थिएन। ब्राजिलका खेलाडीलाई देशको लागि खेल्न जान नदिने इपिएलका क्लबहरुमा लिभरपुल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, चेल्सी र लिड्स युनाइटेड रहेका थिए।

राष्टिय टिमबाट खेल्न जान नपाउने खेलाडीहरुमा लिभरपुलका एलिसन बेकर, फिर्मिन्हो र फाबिन्हो, म्यानयुका फ्रेड, सिटीका एडर्सन र ग्याब्रियल जेसुस, चेल्सीका थियागो सिल्भा तथा लिड्सका राफिन्हा रहेका थिए। सिबिएफले यी ८ खेलाडीलाई १० देखि १४ सेप्टेम्बरसम्म क्लबका लागि खेल्नबाट प्रतिबन्ध लगाउन फिफालाई आग्रह गरेको हो

यससँगै चेल्सीका थियागो सिल्भा तथा म्यानयुका फ्रेडले भने प्रिमियर लिगका साथ१४ तारिखमा हुनेै च्याम्पियन्स लिगकाे समूह चरणका खेल पनि गुमाउने भएका छन्।

ब्राजिलले एभर्टनका रिचार्लिसनलाई भने कुनै प्रतिबन्ध नलगाउन फिफालाई आग्रह गरेको छ। एभर्टनले आफ्ना प्रिसिजनका खेलहरु प्रभावित हुनेगरि ओलम्पिकका लागि रिचार्लिसनलाई उपलब्ध गराएको थियो। त्यसैको कृतज्ञता स्वरुप सिबिएफले रिचार्लिसनलाई अपवादका रुपमा प्रतिबन्ध नलगाउन फिफालई आग्रह गरेको हो।

फिफाले इन्टरनेसनल ब्रेकका दौरान युके सरकारसँग रेड लिस्टमा परेका देशमा पनि सहजै आवतजावत गर्न पाइने र क्वारेन्टीन बस्नु नपर्ने नियम ल्याउनका लागि छलफल गरेको थियो। तर, त्यहाँको सरकारले फिफाको अनुरोधलाई सिधै अस्वीकार गरेको थियो।

रेड लिस्टमा परेको देशबाट इंग्ल्यान्ड फर्किने व्यक्तिले १० दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने नियम छ। यो फिफाले लगाउन सक्ने अधिकतम पाँच दिनको प्रतिबन्धभन्दा दुई गुणा बढी हो। त्यसैले प्रतिबन्धको जानकारी हुँदाहुँदै पनि क्लबहरुले खेलाडीलाई जान नदिएका हुनसक्छन्।

यद्यपी, क्लबहरुले भने फिफालाई सो प्रतिबन्धमाथि पूनर्विचार गर्दै फुकुवा गरिदिन निवेदन गर्ने योजना रहेको बताएका छन्।

Facebook Comments Box