ब्राजिल भर्सेस अर्जेन्टिना खेल अवरुद्ध किन भयो, र अब के हुन्छ?

ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेल सुरु भएको पाँच मिनेटमै अवरुद्ध भएको छ। ब्रजिलका जनस्वास्थ्य अधिकारीहरुले मैदानमै प्रवेश गरेर खेल अवरुद्ध गरेका थिए।

विवादकै बीच सुरु भएको खेल ५ पाँच मिनेटमै रोकिएको थियो। ब्राजिलका जनस्वास्थ्य अधिकारीहरुले अर्जेन्टिनाका चार खेलाडीले कोभिड–१९ को मापदण्ड पूरा नगरेको भन्दै खेलकै बीचमा उनीहरुलाई देश छाडेर जान भनेपछि खेल अवरुद्ध भएको थियो।

खेल अवरुद्ध हुनुको घटनाक्रम र वास्तविकता यस्तो थियोः

१) ब्राजिलको कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्डअनुसार इंग्ल्यान्डलगायतका देशबाट आएको व्यक्तिले १५ दिन क्वारेन्टिनमा बस्नु पर्छ।

२) अर्जेन्टिनाको स्क्वाडमा रहेका चार खेलाडी एमि मार्टिनेज र इमिलियानो बुएन्डिया इंग्ल्यान्डको एस्टन भिला तथा जियोभानी लो सेल्सो र क्रिस्टियन रोमेरो टोटेनहम हटस्पर्सबाट फुटबल खेल्छन्।

३) तर, उनीहरुले ब्राजिलका अधिकारीहरुलाई आफुहरु पछिल्लो १४ दिन इंग्ल्यान्ड नगएको झुटो विवरण दिँदै ब्राजिलको क्वारेन्टिनको नियम मिचेर सिधै देशमा प्रवेश गरेका थिए।

४) ब्राजिलको स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य निगरानी तथा नियमन निकाय (एन्भिजा)ले अर्जेन्टिनाका चार खेलाडीले झुटो विवरण दिँदै ब्राजिल प्रवेश गरेको जानकारी पायो।

५) चारजना खेलाडीले झुटो विवरण दिएको जानकारी पाउना साथ एन्भिजाले प्रदेश सरकारमार्फत् उनीहरुलाई देश छाडेर जाने आदेश दिन सूचना पठाएको थियो।

६) एन्भिजाका कर्मचारीहरु ति चार जना खेलाडीलाई पक्राउ गरी ब्राजिलबाट फिर्ता पठाउन (डिपोर्ट) स्थानीय प्रहरीलाई लिएर अर्जेन्टिनी टिम बसेकै होटलमा गयो। तर, उनीहरु होटल पुग्दा खेलाडीहरु स्टेडियम गइसकेका थिए।

७) उता प्रदेश सरकारले भने ब्राजिलको फुटबल संघ (सीबीएफ) र दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसन (कोन्मेबोल) सँग अर्जेन्टिनी खेलाडीलाई छुट दिन आग्रह गर्यो, र दिइयो पनि।

८) एन्भिजाका पदाधिकारीहरुले होटलमा छँदै छुट प्रदान गरिएको जानकारी पायो। तर, एन्भिजाले सो निर्णय स्वीकार्य नभएको बतायो र स्टेडियमतिर हानिए।

९) ब्राजिल फुटबलका लागि जति चर्चित छ, ब्राजिलको राजधानी साओ पाउलो सहर त्यहाँको ट्राफिक जामका लागि त्यति नै कुख्यात पनि। एन्भिजाका कर्मचारहिरु टिम होटलबाट स्टेडियमतर्फ जाने क्रममा ट्राफिक जाममा अड्किए, र उनीहरु सोचेको समयमा स्टेडियममा पुग्न सकेनन्।

१०) स्टेडियममा खेल सुरु भइसकेको थियो।

११) खेल सुरु भएको केही मिनेटपछि एन्भिजाका कर्मचारीहरु स्थानीय प्रहरीसहित स्टेडियममा पुगे। अर्जेन्टिनाको फुटबल संघका प्रतिनिधिसँग कुरा गर्न उनीहरु साइडलाइनमै गए।

१२) अर्जेन्टिनीका प्रतिनिधिसँग साइडलाइनमा गफ गर्ने क्रममा एन्भिजाका पदाधिकारीहरु मैदानमै प्रवेश गरे र खेल अवरुद्ध गरे।

१३) एन्भिजाका कर्मचारीले खेल अवरुद्ध गरेपछि अर्जेन्टिनाका खेलाडीहरु मैदान छाडेर निस्किए।

१४) एन्भिजाका पदाधिकारी तथा स्थानीय प्रहरी अर्जेन्टिनाका चारजना खेलाडीलाई पक्राउ गरि ब्राजिलबाट फिर्ता पठाउन प्रयासरत थिए भने अर्जेन्टिनाका खेलाडी ड्रेसिङ रुममा गइसकेका थिए।

१५) अर्जेन्टिनाको फुटबल संघले खेल स्थगित गरिएको आधिकारिक घोषणा गर्यो।

१६) मैदानमा अझै बहस चलिरहेको थियो। एन्भिजा, सीबीएफ, अर्जेन्टिना, कोन्मेबोल र स्थानीय प्रहरीहरु अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफल गरिरहेका थिए।

१७) अर्जेन्टिनाका चार खेलाडीले झुटो विवरण दिई स्वास्थ्य मापदण्ड पालना नगरेका कारण खेल अवरुद्ध भएको आधिकारिक सूचना प्रसारण गरियो।

अब के हुन्छ?

दक्षिण अमेरिकाको फुटबलको नियमन गर्ने संस्था कोन्मेबोलले आफु यस विषयमा निर्णय नगर्ने भन्दै पन्छिसकेको छ। विश्वकप छनोट फिफाको प्रतियोगिता भएकाले अन्तिम निर्णय पनि फिफाकै हुनुपर्ने उसले बताएको छ।

‘म्याच रेफ्रिको निर्णयअनुसार ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट रद्द भएको छ। नियमानुसार, अब रेफ्रि र म्याच कमिस्नरले यस बारे विस्तृत रिपोर्ट फिफाको अनुशासन समितिलाई बुझाउनेछन्। विश्वकप छनोट फिफाको प्रतियोगिता हो। यसको आयोजना र सिर्जित घटनाक्रमका बारेमा निर्णय गर्ने अधिकार केबल फिफामा निहीत छ। त्यसैले, रिपोर्ट बुझाएपछि फिफाले नै अन्तिम निर्णय गर्नेछ,’ कोन्मेबोलले आधिकारिक विज्ञप्तीमा भनेको छ।

तर, फिफाले अहिलेसम्म कुनै निर्णय गरेको छैन।

नियमसंगत रुपमा हेर्दा अर्जेन्टिनाले स्वास्थ्य मापदण्डको पालना नगरेको देखिन्छ। अर्जेन्टिनाका कारण खेल रद्द भएको हुँदा फिफाले ब्राजिललाई विजयी घोषणा गर्दै ३ अंक प्रदान गर्नुपर्ने हुन्छ।

अनुशासन समितिले प्रतिवेदन बुझाएपछि फिफाले अन्तिम निर्णय गर्नेछ। निर्णय जे आएपनि विश्व फुटबलका दुई पावरहाउस ब्राजिल र अर्जेन्टिनाको विश्वकप छनोट हुने सम्भावनालाई कुनै असर गर्ने छैन।

Facebook Comments Box