कोपा अमेरिका : सेमिफाइनल प्रवेशका लागि ब्राजिलले चिलीको सामाना गर्दै

ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टफाइनलका खेलहरु शनिबारबाट सुरु हुँदैछन्। शनिबार बिहान हुने पहिलो खेलमा पेरु र पाराग्वे भिड्ने छन् भने अर्को खेलमा डिफेन्डिङ च्याम्पियन ब्राजिलले चिलीको सामाना गर्ने छ।

ब्राजिल र चिलीबीचको खेल शनिबार बिहान ५ः४५ बजे रियो दि जेनेरियोस्थित ओलम्किप स्टेडियममा हुनेछ। ब्राजिल समूह बीको विजेताका रुपमा क्वार्टरफाइनल पुगेको हो भने चिली समूह एको चौथो हुँदै क्वार्टरफाइनल पुगेको हो।

समूहका चार खेलमा ब्राजिलले ३ जित र १ बराबरी खेलेको थियो । उसले भेनेजुएलालाई ३–०ले हराएको थियो भने दोस्रो खेलमा पेरुलाई ४–०ले पराजित गरेको थियो। यस्तै तेस्रो खेलमा कोलम्बियालाई २–१ले हराएको ब्राजिल अन्तिम खेलमा इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

यस्तै चिलीले अर्जेन्टिना र उरुग्वेसँग १–१ गोलको बराबरी खेलेको थियो भने बोलिभियालाई १–०ले हराएको चिली पराग्वेसँग २–०ले पारजित भएको थियो।

ब्राजिलले चिलीले अहिलेसम्म ७२ खेल खेलेका छन्, जसमा ५३ खेल ब्राजिल जितेको छ भने ८ खेल चिलीले जित्दा १३ खेल बराबरीमा सकिएको छ।

पेरु र पाराग्वे पनि शनिबार बिहानै भिड्दै छन् । यो खेल २ः४५ बजे सुरु हुने छ । पेरु समूह बीको उपविजेता हो भने पाराग्वे समूह एको तेस्रो हुँदै क्वार्टफाइनल पुगेको हो।

Facebook Comments Box