कोपा अमेरिकामा आज ब्राजिल भर्सेस इक्वेडर

ब्राजिलमा जारी कोपा अमेरिकामा घरेलु टिम ब्राजिलले इक्वेडरसँग खेल्दैछ।

कोपा अमेरिकाको हरेक संस्करणको प्रबल दाबेदार ब्राजिलले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिता जित्ने लय समातिरहेको छ। समूह चरणका तीन खेल खेलेको ब्राजिलले तीनवटै खेलमा सहज जित हात पार्न सफल पनि भएको छ।

तीन खेलमा ९ गोल गर्ने क्रममा १ गोलमात्र खाएको ब्राजिल ९ अंकसहित आफ्नो समूह ‘बी’को शीर्षस्थानमा रहेको छ। पहिलो खेलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको ब्राजिलले दोस्रो खेलमा पेरुविरुद्ध ४–० को जित हात पार्दा कोलम्बियाविरुद्ध २–१ ले विजयी भएको थियो।

इक्वेडरले भने प्रतियोगिता सुरु भएसँगै आफ्नो लय गुमाएको छ। तीन खेलमा एउटामा पनि जित निकाल्न नसकेको इक्वेडर गोलअन्तरका आधारमा चौथो नम्बरमा छ। समूह ‘बी’बाट कम्तिमा शीर्ष तीनभित्र रहेर नकआउट प्रवेश गर्ने अपेक्षा गरिएको इक्वेडर अहिले समूह चरणबाटै घर नफर्किन संघर्षरत छ।

कोलम्बियासँग १–० ले पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको इक्वेडरले भेनेजुएला र पेरुसँग समान २–२ गोलको बराबरी खेलेको थियो। हाल इक्वेडर अन्तिम स्थानमा रहेको भेनेजुएलासँग गोलअन्तरका आधारमा अगाडी रहँदै पुछारमा पुग्नबाट बचिरहेको छ।

तर, इक्वेडर पछिल्लो समय उत्कृष्ट लयमा देखिएको टिम हो। जारी कोपा अमेरिकाका अलावा उसले आशालाग्दो प्रदर्शन गरिरहेको थियो। त्यसैले, पछिल्ला तीन खेललाई मात्रै हेरेर ब्राजिलले इक्वेडरलाई कम आँक्नु भने हुँदैन।

इक्वेडर जुनसुकै बेला आफ्नो फर्ममा फर्किएर जस्तोसुकै टिमलाई पनि कडा चुनौती दिन सक्षम टिम हो।

Facebook Comments Box