ब्रेन्टफोर्ड पहिलो पटक प्रिमियर लिगमा बढुवा

ब्रेन्टफोर्ड पहिलो पटक इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ। शनिबार राति भएको च्याम्पियनसिपको प्लेअफमा स्वान्सी सिटीलाई २–०ले हराउँदै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको हो।

च्याम्पियनसिपमा तेस्रो र चौथो भएपछि प्रियिमर लिगमा बढुवाका लागि ब्रेन्टफोर्ड र स्वान्सीले प्लेअफ खेलेका थिए । अघिल्लो सिजन प्लेअफमा फुलहमसँग पराजित भएपछि उ बढुवा हुनबाट बञ्चित भएको थियो।

ब्रेन्टफोर्डलाई जित दिलाउन इभान टोनी र इमिलियानो मार्कोन्डेसले एक एक गोल गरे । १०औं मिनेटमा टोनीले पेनाल्टीमा गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए । २०औं मिनेटमा मार्कोन्डेसले गोल गर्दै ब्रेन्टफोर्डलाई २–० को जित दिलाए। ६५औं मिनेटमा जय फुल्टनले रातो कार्ड पाएपछि स्वान्सी १० खेलाडीमा समेटिएको थियो।

ब्रेन्टफोर्डसँगै नर्विच सिटी र वार्टफोर्ड पनि प्रिमियर लिगमा बढुवा भएका छन् । यी दुई टिम च्याम्पियनसिपमा पहिलो र दोस्रो हुँदै प्रियिमर लिगमा बढुवा भएका हुन्। यी दुवै टिम अघिल्लो सिजनमात्र प्रिमियर लिगबाट रेलिगेसनमा परेका थिए।

Facebook Comments Box