
सातदोबाटोको हारसँगै ब्रिगेड बोइज रेलिगसनमा
ब्रिगेड बोइज क्लब सहिद स्मारक ए डिभिजन लिगबाट रेलिगेसनमा परेको छ। लिगको १२औं चरणमा सातदोबाटो युथ क्लबसँग ३–२ले पराजित भएसँगै ब्रिग्रेड बोइज बी डिभिजनमा घटुवा भएको हो।
यो सँगै ए डिभिजन लिगबाट ब्रिगेडसँगै च्यासल युथ क्लब बी डिभिजनमा घटुवा भएका छन्। यो नतिजाले रेलिगेसन दबाबमा रहेको फ्रेन्ड्स र पुलिस क्लबलाई राहत मिलेको छ।
१२ खेलबाट ब्रिगेड बोइजको ७ अंक छ । बीबीसीभन्दा माथि रहेको फ्रेण्ड्सको १० र पुलिसको ११ अंक अंक छ । अब अन्तिम खेलमा बीबीसीले थ्रीस्टारलाई हराए पनि फ्रेण्ड्सलाई भेट्ने छैन । हेड टु हेडमा बीबीसीभन्दा फ्रेण्ड्स अघि छ ।
खेलको १३ मिनेट मान बहादुर तामाङको पासमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए । तर अग्रता लामो समय टिकेन । खेलको १६ मिनेटमा बरट्रान्ट ईबोड ओटोउले बीबीसीका लागि बराबरी गोल फर्काए ।
त्यसको एक मिनेट नवित्दै दीपकराज सिंह ठकुरीले अजयी मार्टिन्सको पासमा गोल गर्दै सातदोबाटोलाई फेरि अग्रता दिलाए । पहिलो हाफमा सातदोबाटोले २–१ को अग्रता कायम राख्यो ।
५१ मिनेट रोशन रानामगरले बराबरी गोल फर्काए । दोर्जे तामाङको हेडर सातदोबाटोका गोलकिपर अभिषेक बरालले पूर्ण रुपमा क्लियर गर्न नसक्दा रोसनले गोल गरेका हुन् । त्यसपछि पनि रोशनले दुई अवसर गुमाए ।
दोस्रो हाफमा खासै मुभ बनाउन नसकेपनि निरज चौधरीले ८७ मिनेटमा गोल गर्दै सातदोबाटोलाई ३–२ को जित निश्चित गरे ।