बर्नेलीको पोस्टमा सिटीको ५ गोल

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा सिटीले बर्नेलीलाई ५–०ले हरायो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउने क्रममा फिल फोडेन र रियाद महारेजले समान २ गोल गरे भने डेभिड सिल्भाले १ गोल गरे । सिटीले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल गरेका थिए ।

फोडेनले २२औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४३औं मिनेटमा महारेजले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा प्राप्त पेनाल्टीको महारेजले नै गोल गर्दै पहिलो हाफमै सिटीलाई ३–०को अग्रता दिलाए ।

५१औं मिनेटमा डेभिव सिल्भाले गोल गरेपछि सिटीले ४–०को ग्रता बनायो । ६३औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ५–०को अग्रता लियो । त्यसपछि गोल हुन नसक्दा सिटीले खेल ५–०ले जित्यो ।

खेलमा सिटीले ७२ प्रतिशत बल पोजेसन बनाउँदै बर्नेलीको पोस्टमा १८ सट प्रहार गरेको थियो, जसमा ७ सट फ्रेममा थियो । यता बर्नेली २ सट मात्र प्रहार गर्दा कुनैपनि सट फ्रेममा प्रहार गर्न सकेन ।

जितपछि सिटी ६४ अंकका साथ दोस्रो स्थानमै यथावत छ । ३९ अंकका सथा बर्नेली ११औं स्थानमा छ । ८३ अंक जोडेको लिभपुरपुल शीर्ष स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.