हाकिमी चम्किँदा डर्टमन्डको उत्कृष्ट पुनरागमन जित

मोरक्कोका डिफेन्डर हचरफ हाकिमीले उत्कृष्ट प्रर्दशन गर्दै २ गोल गरेपछि च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमन्टले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको छ । मंलबार राति घरेलु मैदानमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानसँग २–०ले पछि परेको अवस्थामा हाकिमीले २ गोल गरेपछि डर्टमन्ड ३–२ले विजयी भयो ।

खेलको पाँचौं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा माटियस भेसिनोले गोल गरेपछि पहिलो हाफमै इन्टरले २–० को अग्रता लियो ।

पहिलो हाफमा २ गोलले पछि परेको डर्टमन्डले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो । ५१ औं मिनेटमा हाकिमीले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काए । ६४ औं मिनेटमा जुलियन ब्रान्टले गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा हाकिमीले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमन्डलाई ३–२ को उत्कृष्ट जित दिलाए । यी दुईबीचको पहिलो लेगमा इन्टर २–०ले विजयी भएको थियो ।

खेलमा डर्टमन्डले ६२ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले इन्टरको पोस्टमा २१ सट प्रहार गरेकोमा ६ सट अन टार्गेट थियो । यता, इन्टरले भने ९ सट प्रहार गरेकोमा ४ सट अन टार्गेट थियो ।

इन्टरविरुद्धको जितसँगै डर्टमन्ट समूह एफको दोस्रो स्थानमा उक्लिएको छ । उसले २ जित १ बराबरी र १ हारका साथ ७ अंक जोडेको छ । यो समूहमा बार्सिलोना ८ अंकका साथ शीर्ष स्थानमा छ । इन्टर भने ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *