बुन्डेसलिगामा बायर्न र डर्टमन्ड विजयी

जर्मन बुन्डेसलिगामा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख र बोइरिया डर्टमन्ड विजयी भएका छन् । शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनलाई ५–२ले हराउँदा बोरुसिया डर्टमन्डले कोलोग्नेमाथि २–०को जित निकाल्यो।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा लिरोए सोने, किङ्सले कोमन र थोमस मुलरले पनि गोल गरे। बर्लिनका निको र जुलियन रेयर्सनले गोल गरे।

खेलको १५औं मिनेटमा लेवान्डोस्कीको गोलमा बायर्नले लियो । उनले पेनाल्टीमा गोल गरेका थिए। २३औं मिनेटमा लेवान्डोस्कीले नै गोल गर्दै बार्यनको अग्रता दोब्बर बनाए । ३४ औं मिनेटमा सानेको गोलसँगै बायर्नको अग्रता ३–० को बन्यो। ४३औं मिनेटमा बर्लिनका निकोले गोल गरेपछि पहिलो हाफमा खेल ३–१ को स्थितिमा आयो।

६०औं मिनेटमा कोमनले गोल गर्दै बायर्नलाई ४–१ को स्थितिमा ल्याए। ६५औं मिनेटमा बर्लिनका जुलियनले गोल गर्दै खेल ४–२ को अवस्थामा ल्याए। त्यसपछि खेलको ७९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ५–२ को जित दिलाए ।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा डर्टमन्डले कोलोग्नेलाई २–०ले हरायो। डर्टमन्डको जितमा थोर्गन हाजार्ड र स्टिफिन टिग्जले गोल गरेका थिए। घरेलु मैदानमा ४० औं मिनेटमा हाजार्डले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए। ६४ औं मिनेटमा टिग्जले गोल गरेपछि डर्टमन्ड २–०ले विजयी भयो।

जितसँगै लिगको शीर्षमा रहेको बायर्नले १० खेलमा २५ अंक जोडेको छ। पराजित बर्लिन १६ अंक जोडेर छैटौं स्थानमा छ। यस्तै, डर्टमन्ड १० खेलमा २४ अंक जोड्दै दोस्रो स्थानमा रहँदा १३ अंक जोडेको कोलोग्ने १०औं स्थानमा छ ।

Facebook Comments Box