च्याम्पियन्स लिगको नकआट चरण आजदेखि

युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको नकआट चरण आजबाट सुरु हुँदै छ । च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो दिन २ खेल हुने छन् । जसमा डिफेन्डिङ च्याम्पियन लिभरपुल र एट्लेटिको मड्रिड भिड्दै छन् भने अर्को खेलमा पेरिस सेन्ट जर्मेनले बोरुसिया डर्टमन्डको सामाना गर्ने छ ।

नकआट चरणमै स्पेनिस क्लब भ्यालेन्सियाले एट्लान्टाको सामाना गर्ने छ भने इंग्लिस क्लब टोटह्यामले जर्मन क्लब आरबी लेप्जिगको सामना गर्ने छन् । दुवै खेल बिहीबार राति हुने छन् । यस्तै २६ फेब्रुअरी राति चेल्सी र बायर्न म्यूनिख भिड्दा बार्सिलोनाले इटालियन क्लब नापोलीको सामाना गर्ने छ । २७ फेब्रुअरीमा युभेन्ट्सले लियोनको सामाना गर्ने छ भने म्यान्चेस्टर सिटीले रियल मड्रिडको समाना गर्ने छ ।

डिफेन्डिङ च्याम्पियन लिभरपुल प्रतियोगिताका कायम अरु सबै टिमका लागि सबैभन्दा ठूलो चुनौती रहनेछ । त्यसमाथि लिभरपुल गत वर्ष उपाधि जित्दाको सम्झना हुने गरी एट्लेटिको म्याड्रिडको सामना गर्न मंगलबार राति वान्डा मेट्रोपोलिटानामो फर्कने छ । लिभरपुल ३० वर्षयता पहिलोपल्ट प्रिमियर लिग उपाधि जितको संघारमा छ ।

यसपल्ट लिभरपुलसामु ५ उपाधि जित्ने अवसर छ । त्यसमध्ये टोलीले यूईएफए सुपर कप र क्लब विश्वकप जितिसकेको छ । प्रिमियर लिगमा मात्र होइन, च्याम्पियन्स लिगमा पनि लिभरपुलले राम्रो खेलिरहेको छ ।

जर्मन प्रशिक्षक योर्गेन क्लपको आगमन पछि लिभरपुलले सन् २०१६ मा युरोपा लिग फाइनल खेलेको थियो भने त्यसलगत्तै च्याम्पियन्स लिगमा रियल म्याड्रिडविरुद्ध उपाधि भिडन्तमा उत्रेको थियो । दुवैमा लिभरपुल पराजित रह्यो । तर गत सिजन भने लिभरपुलले टोटेनहमलाई हराएर स्पेनी राजधानीमा युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि चुमेको थियो ।

एट्लेटिको अहिले जुन लयबाट गुज्रिरहेको छ, त्यो आधारमा लिभरपुलका लागि यो बलियो चुनौती भने हुने छैन । प्रशिक्षक डिएगो सिमोनीको भविष्यलाई लिएर ८ वर्षयता पहिलोपल्ट प्रश्न उठेको छ । उपाधि होडमा नरहेको एटलेटिको शीर्ष चारमा स्थान बनाउन संघर्षरत छ । सन् २०१४ र २०१६ को फाइनल खेलेको एट्लेटिकोको डिफेन्स पनि यसपल्ट कमजोर छ ।

पेरिस सेन्ट जर्मेनले पनि लगातार तीन वर्षको पीडादायी नतिजापछि यसपल्ट अन्तिम १६ मा आफ्नो चुनौती नवीकरण गर्न मंगलबार नै बरुसिया डर्टमन्डको भ्रमणमा जानेछ । डर्टमन्ड जर्मन बुन्डेसलिगामा अहिले उत्कृष्ट लयमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *