नवप्रवेशी च्यासलले एनआरटीलाई हरायो

यसैवर्ष ए डिभिजनमा बढुवा भएको च्यासल युथ क्लबले सहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । बिहीबार भएको खेलमा च्यासलले न्यूरोड टिम (एनआरटी)लाई ५–१ के फराकिलो अन्तरले पराजित गरेको हो ।

च्यासलले लिगको पहिलो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रोमा त्रिभुवन आर्मीसँग १–० ले पराजित भएको थियो । यो जितसँगै च्यासल ४ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ ।

च्यासललाई लिगको पहिलो जित दिलाउन अमिर श्रेष्ठ र विमल घर्तिमगरले २–२ गोल गरे । अमिरले खेलको १४ र २९ औं मिनेटमा गोल गरेका थिए । विमलले ५६ र ८५ औं मिनेटमा गोल गरे । यस्तै च्यासलका लागि सन्तोष साहुखलले ६३ मिनेटमा अर्को गोल थपेका थिए ।

खेलको १४ औ मिनेटमा सन्जोक राईको पासमा अमिरले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । अमिरले नै २९ औं दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

५६ औ मिनेटमा हेडमार्फत विमलले च्यासलका लागि तेस्रो गोल गरेका थिए । ६३ औं मिनेटमा च्यासलका लागि सन्तोष साहुखलले अर्को गोल थपे । त्यस्तै ८६ औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गरेपछि च्यासल ५–० को अवस्थामा पुग्यो ।

एनआरटीका लागि इन्जुरी समयमा विदेशी खेलाडी मोसुद अग्बोलाले एक गोल फर्काएका थिए । एनआरटी जारी लिगमा जित बिहीन छ । उ लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा मनाङ मस्र्याङ्दीसँग २–० ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *