बर्नलीसँग रोकियो चेल्सी

इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको क्लब चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ। शनिबार राति सम्पन्न खेलमा चेल्सीले बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो। चेल्सीका काइ हभार्ट्जले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए। रिस जेम्सको क्रसलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन्।

चेल्सीले बल आफ्नो नियन्त्रणमा राखे पनि गोल भने गर्न सकेन। थियागो सिल्भाको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने क्यालम हडसन ओडोइको प्रहार निक पोपीले बचाउ गरेका थिए।

पाहुना टोलीका भिड्राले खेल सकिन ११ मिनेट अघि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। बराबरीपछि पनि चेल्सी दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ३ अंकले अघि छ।

Facebook Comments Box