चेल्सीले उचाल्यो च्याम्पियन्स लिग उपाधि

लन्डन क्लब चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा शनिबार राति भएको खेलमा प्रतिद्वन्द्वी क्लब म्यान्चेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले दोस्रो पटक उपाधि जितेको हो।

चेल्सीले यसअघि २०१२ मा च्याम्पियन्स लिगको उपाधि जितिसकेको थियो। यता, पेप ग्वार्डिओलाको टिम उत्कृष्ट प्रर्दशनका बाबजुद उपाधि जित्न असफल भयो । सिटी पहिलो पटक फाइनल पुगेको थियो।

चेल्सीको जितमा काइ हाभर्ट्जले गोल गरे। उनले ४२ मिनेटमा गरेको गोल नै चेल्सीका लागि उपाधि जित्न प्रयाप्त बन्यो। मासन माउन्टले दिएको उत्कृष्ट थ्रु पासलाई हाभर्ट्जले गोलरक्षक एडरसन मोराएसलाई छलाउँदै गोल गरेका थिए।

खेल अवधिभर भने सिटीले चेल्सीलाई दबाब दिएको थियो। ६१ प्रतिशत बल नियन्त्रणमा लिएको सिटीले चेल्सीको पोस्टमा ७ प्रहार गरेका थिए। त्यसमध्ये १ सट टार्गेटमा रहेको थियो। यस्तै, चेल्सीले भने ८ सट प्रहार गरेको थियो। उसको दुई सट टार्गेटमा थियो।

पहिलो हाफ दुवै टोलीले केही उत्कृष्ट मौकाहरु खेर फ्यालेका थिए। खेलको १०औं मिनेटमै टिमो वर्नरले मौका खेर फ्यालेका थिए। यस्तै, १९औं मिनेटमा पनि उनले बल राम्रोसँग कनेक्ट गर्न सकेनन्।

२७औं मिनेटमा फिल फोडेनको उष्कृष्ट मुभलाई भेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरले बिफल पारे। यस्तै, ३७औं मिनेटमा पनि उनैले कायल वालकरको प्रयास बिफल पार्दिए।

पहिलो हाफमा चेल्सीले अनुभवी डिफेन्डर थियागो सिल्भा गुमाएका थिए। चोट लागेपछि उनको स्थानमा आन्द्रे क्रिस्टेन्सेन छिरेका थिए।

दोस्रो हाफमा भने चेल्सी सम्हालिएर खेलेको थियो। चेल्सीले ७३औं मिनेटमा गोल गर्ने सुवर्ण अवसर खेर फालेको थियो। क्रिस्टियन पुलिसिचको प्रहार गोलरक्षक मोराएस बिट भएपनि बलले पोस्टको दिशा लिन सकेन।

यस्तै, सिटीले दोस्रो हाफमा मिडफिल्डर केभिन डे ब्रुएन गुमाउन पर्‍यो। डिफेन्डर रुडीगरसँग जुध्न पुग्दा उनको अनुहारमा चोट लागेको थियो। त्यसपछि सिटी खेलमा फर्किन सकेन।

Facebook Comments Box