एरिक्सन र उनको ज्यान जोगाउने फिल्ड–मेडिकलाई युरोकप फाइनल हेर्ने भिआईपी निम्तो

युरोपेली फुटबल संघ (युइएफए) ले डेनमार्कका क्रिस्टियन एरिक्सन र मैदानमा उनको उपचार गर्ने फिल्ड–मेडिकलाई युरोकप २०२० को फाइनल हेर्न विशेष निम्तो दिएको छ। जारी युरोकपको समूह चरणअन्तर्गत फिनल्यान्डविरुद्धको खेलका क्रममा मैदानमै हार्ट–अट्याक भएपछि एरिक्सन मैदानमै ढलेका थिए।

फिल्ड–मेडिकले मैदानमै तत्काल प्राथमिक उपचार गरेकाले मात्र एरिक्सनको ज्यान जोगिएको थियो। अचेत भएर ढलेका एरिक्सनलाई मैदानमा उपस्थित दर्शक र टिभीमा प्रत्यक्ष हेरिरहेका करोडौं दर्शककै सामू होशमा ल्याएर तुरुन्त अस्पताल लगेर उपचार गरेपछि उनको ज्यान जोगिएको थियो।

लण्डनस्थित वेम्बली स्टेडियममा हुने फाइनल खेल हेर्नका लागि एरिक्सन, उनकी श्रीमती र ६ जना फिल्ड–मेडिकलाई भिआईपी निमन्त्रणा पठाएको युईइफएले जानकारी दिएको छ। तर, एरिक्सन परिवारले भने फाइनल हेर्न जाने वा नजाने बारे कुनै जानकारी दिएको छैन।

उनी चिकित्सकको कडा निगरानीमा उपचार गराइरहेका छन्। सो घटना यता उनी एकपटक मात्र बाहिर निस्किएको देखिएका छन्। सोमबार एरिक्सन बाहिर निस्कँदा एक फ्यानसँग खिचेको फोटो सामाजिक सञ्जालमा आएको थियो।

एरिक्सनको ज्यान जोगाउने फिल्ड–मेडिकमध्येका एक पेडर एर्सगाडले युईएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिनबाट भिआईपी निमन्त्रणा आउँदा अत्यन्त हर्षित र गौरवान्वित भएको प्रतिक्रिया दिएका छन्। आफ्नो सम्पूर्ण टिमले सो दिन एरिक्सनको ज्यान जोगाउन गरेको प्रयासका लागि पनि गर्व महसुस भएको उनले बताएका छन्।

हार्ट अट्याक भएर ढलेका क्रिस्टियन एरिक्सन अचल भएर आँखा पल्टाएर लडेको क्यामेरामा देखिएको थियो। उनी ढलेपछि तत्काल सिपीआर दिइनुका साथै मैदानमा डेफिब्रिलेटरबाट मुटुको धड्कन पनि पुनः सुचारु गरिएको थियो।

एरिक्सनको घटनाले सुरुमा विचलित भएको डेनमार्क टिमले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो। तर, कमजोरीलाई शक्ति बनाउँदै डेनमार्कले त्यसयता आफ्ना हरेक खेलमा दिलोज्यान दिएर खेल्दै युरोकपको सेमिफाइनलसम्म आइपुगेको छ।

दोस्रो सेमिफाइनलमा डेनमार्कले फाइनल प्रवेशका लागि इंग्ल्यान्डविरुद्ध खेल्नेछ। टिमका सबैभन्दा प्रभावशाली र कुशल खेलाडी एरिक्सन अनुपस्थित भएपनि डेनमार्कले उनले मृत्युविरुद्ध प्राप्त गरेको जितलाई प्रेरणा बनाउँदै एकपछि अर्को जित निकालिरहेको छ।

Facebook Comments Box