ह्याट्रिकसँगै रोनाल्डोले तोडे पेलेको कीर्तिमान, पेलेले दिए बधाई

इटालियन सिरि ए अन्तर्गत शनिबा राति भएको खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्दै महान फुटबलर पेलेको कीर्तिमान तोडेका छन् । रोनाल्डोको कीर्तिमानी ह्याट्रिक गरेपछि सिरि एमा युभेन्टसले कागलिरीमाथि ३–१ को जित निकाल्यो।

यो ह्याट्रिकसँगै रोनाल्डो औपचारिक खेलमा सबैभन्दा बढी गोल खेलाडी बनेका छन्। यो क्रममा उनले महान ब्राजिलियन फुटबलर पेलेको कीर्तिमान तोडे । आफ्ना कीर्तिमान तोडेपछि पेलेले सोमबार नै क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन्।

खेलको सुरुआती ३२ मिनेटभित्र तीन गोल गरेका रोनाल्डोको अहिलेसम्मको खेल–जीवनमा गोल–संख्या ७ सय ७० पुगेको छ । पेलेले ७ सय ६७ गोल गरेका छन् । यसै क्रममा पेलेले इन्स्ट्राग्रामबाट बधाई दिएका हुन् ।

काग्लियारीको मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । घरेलु टिमका जियोभानी सिमओनले एक गोल फर्काए । यो रोनाल्डोको करिअरको ५७औं ह्याट्रिक हो ।

खेलको १० औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमको अग्रता २–० को बनाए । खेलको ३२ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पहिलो हाफमा युभेन्ट्स ३–० ले अघि रह्यो ।

यस्तै खेलको ६१ औं मिनेटमा जियोभानीले एक गोल फर्काए पनि युभेन्ट्स ३–१ ले विजयी भयो ।

यस जितसँगै युभेन्ट्सले २६ खेलमा ५५ अंक जोडेको छ । युभेन्ट्स लिगको तेस्रो स्थानमा रहेको छ । कागलिरी २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.