रोनाल्डोले गोल गरेपनि योङ ब्वाइजसँग युनाइटेड पराजित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। मंगलबार राति सम्पन्न खेलमा युनाइटेड स्विस क्लब योङ ब्वाइजसँग २–१ गोल अन्तरले पराजित भएको हो।

युनाइटेड सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित भएको हो। खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरे।

योसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा १३५ गोल गरेका छन्। रोनाल्डोले सर्वाधिक च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरेका छन्। रोनाल्डोले इकर क्यासिलासले १ सय ७७ खेलको कीर्तिमान बराबरी गरेका हुन्।

३५ औं मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भयो। क्रिस्टोफर मार्टिनलाई फउल गरेपछि युनाइटेडका आरोन वान बिसाकाले रातो कार्ड पाएका थिए। ६६ औं मिनेटमा योङका निकोलसले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए। इन्जुरी समयमा थियोसन जोर्डनले गोल गर्दै योङलाई २–१ को जित दिलाए।

Facebook Comments Box