रोनाल्डो चम्किँदा युभेन्ट्स विजयी, शीर्ष तीनमा फर्कियो

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन मद्दतमा इटालियन सिरि एमा युभेन्ट्स विजयी भएको छ। रोनाल्डोले २ गोल गरेको खेलमा युभेन्ट्सले रेलिगेसन जोनको क्रोटोनलाई ३–०ले हरायो।

युभेन्ट्सको जितमा रोनाल्डोले २ गोल गर्दा वेस्टन म्याककेनीले १ गोल गरेका थिए । रोनाल्डोले दुवै गोल हेडिङबाट पहिलो हाफमा गरेका थिए भने म्याककेनीले दोस्रो हाफमा गरेका थिए।

एलेक्स सान्ड्रोको क्रसमा ३८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफकै इन्जुरी समयमा आरोन राम्सीको पासमा रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर बनाए। ६६औं मिनेटमा म्याकेनीले गोल गरेपछि युभेन्ट्सले ३–०को सहज जित निकाल्यो ।

क्रोटोनविरुद्धको २ गोलसँगै रोनाल्डो यो सिजन लिगमा सिरि एमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षमा पनि पुगेका छन् । उनले १९ खेलमा १८ गोल गरेका छन्। समग्रमा भने उनले २५ गोल गरेका छन्।

जितपछि युभेन्ट्स दोस्रो स्थानमा उक्लिएको छ । उसले २२ खेलमा ४५ अंक जोडेको छ। समान २३ खेल खेलेका इन्टर र एसी मिलान ५३ र ४९ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् । क्रोटोन १२ अंकसाथ अन्तिम स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.