क्रोएसिया र स्पेनबीचको खेलमा गोलको वर्षा

जारी युरोकपका दुई दाबेदारबीच भएको प्रिक्वार्टरफाइनल भिडन्तमा गोलको वर्षा भएको छ। स्पेन र क्रोएसियाबीचको खेलमा गोलको कीर्तिमानी वर्षा भएको हो।

सो खेलमा स्पेन ५–३ ले विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ। निर्धारित ९० मिनेट ३–३ को बराबरीमा सकिएपछि खेल एक्स्ट्रा टाइमसम्म पुगेको थियो। एक्स्ट्रा टाइममा स्पेनले दुई गोल थप्दै ५–३ को जित निकाल्न सफल भयो।

स्पेनका गोलकिपर उनाइ सिमोनले सिल्ली मिस्टेक गरेपछि खेलमा सुरुवाती अग्रता भने क्रोएसियाले लिएको थियो। खेलको २०औं मिनेटमा स्पेनका पेड्रीले ४० यार्डबाट दिएको पास सिमोनले रोक्न नसकेपछि भएको आत्मघाती गोलमा क्रोएसियाले अग्रता लिएको हो।

तर, पाब्लो सराबियाले ३८औं मिनेटमा गोल गर्दैै स्पेनलाई खेलमा फर्काएका थिए। सेजर एज्पिकुलेटाले ५७औं मिनेटमा गोल थपेपछि स्पेनले पछाडी परेको अवस्थाबाट कमब्याक गर्न सफल भएको थियो।

फेरान टोरेसले ७६औं मिनेटमा स्पेनका लागि अर्को गोल थप्दै गोलअन्तर फराकिलो बनाए। तर, क्रोएसिया हार मान्ने मनस्थितिमा थिएन। ८५औं मिनेटमा सब्स्टिच्युटका रुपमा मैदान प्रवेश गरेका मिस्लाभ ओरिसिचले गोल गरेपछि क्रोएसियाका खेलमा फर्कियो। दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा (९०+२) गोल गरेपछि निर्धारित समय ३–३ को बराबरी हुँदै खेलले रोमाञ्चक मोड लिएको थियो।

थपिएको एक्स्ट्रा टाइममा सुरुवातबाटै आक्रामक देखिएको क्रोएसियाले गोलका कैयौं अवसर बनाएपनि फिनिसिङमा चुक्दा अग्रता लिन असफल भयो। तर, स्पेनका अल्भारो मोराटाले भने खेलको १००औं मिनेटमा पाएको अवसर गुमाएनन् र स्पेनलाई फेरि अग्रता दिलाए।

त्यसको तीन मिनेट बित्न नपाउँदै मिकेल ओयार्जाबालले स्पेनका लागि पाँचौं गोल पनि गरे। स्पेनले दुवै गोल एक्स्ट्रा टाइमको पहिलो हाफमा गरेको थियो। दोस्रो हाफमा पनि दुवै टिमले उत्कृष्ट मुभ बनाए पनि कसैले गोल गर्न नसक्दा स्पेन ५–३ ले विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गर्न सफल भयो।

स्पेनले क्वार्टरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि भिडन्त गर्नेछ।

यसैगरी, स्पेनले युरोकपका लगातार दुई खेलमा पाँच वा त्योभन्दा बढी गोल गर्ने पहिलो टिम बनेर रेकर्ड कायम गरेको छ। यसअघि समूह चरणको अन्तिम खेलमा स्पेनले स्लोभाकियाविरुद्ध ५–० को फराकिलो जित निकालेको थियो।

यस्तै, क्रोएसिया र स्पेनबीचको यो खेल युरोकप इतिहासको दोस्रो हाइस्कोरिङ खेल पनि बनेको छ। १९६० को युरोकपमा युगोस्लाभियाले फ्रान्सलाई ५–४ ले पराजित गर्दे एकै खेलमा सर्वाधिक गोल गर्ने रेकर्ड कायम गरेको थियो।

Facebook Comments Box