क्रोएसिया युईएफए नेसन्स लिगको फाइनलमा प्रवेशको गरेको छ। बुधबार राति भएको सेमिफाइलनमा नेदरल्यान्ड्सलाई ४–२ले हराउँदै क्रोएसिया फाइनलमा प्रवेश गरेको हो।
बिहीबार राति भएको खेलमा क्रोएसियालाई जित दिलाउन आन्द्रे क्रमारिच, मारियो पासालिच, ब्रुनो पेटकोभिच र लुका मोडरिचले गोल गरे भने नेदरल्यान्ड्सका डोनयाल मालेन र नोया लाङले गोल गरेका थिए।
घरेलु मैदान डे कुइप स्टेडियममा भएको खेलमा डोनयाल मालेनले ३४औं मिनेटमा गोल गर्दै नेदरल्याण्ड्सलाई पहिले अग्रता दिलाएका थिए । दोस्रो हाफमा तर, क्रोएसियाले खेलमा कमब्याक गर्यो ।
५५औं मिनेटमा क्रमारिचले पेनाल्टीमा बराबरी गोल फर्काए भने ७२औं मिनेटमा पासालिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। ६ मिनेट थपिएका इन्जुरी समयको अन्तिम समयमा लाङले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
तर, अतिरिक्त समयमा दुई गोल गर्दै क्रोएसियाले बाजी मार्यो । पेटकोभिचले ९८औं र मोडरिचले ११६औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि क्रोएसियाले फाइनलमा स्थान बनायो।
क्रोएसियाले अब उपाधिका लागि स्पेन र इटलीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।