२९ वर्षपछि डेनमार्क सेमिफाइलनमा, चेक रिपब्लिक २–१ले पराजित

जारी युरोकपमा ‘अन्डर डग’को छवि बनाएको डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति अजरबैजानको बाकुमा भएको खेलमा चेक रिपब्लिकलाई २–१ले पराजित गर्दै डेनमार्क २९ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो।

सन् १९९२ मा युरोकप उपाधि जितेयता डेनमार्क पहिलोपटक सेमिफाइनलमा पुगेको हो। फाइनल प्रवेशका लागि डेनमार्कले इंग्ल्यान्ड र युक्रेनबीचके विजेतासँग खेल्ने छ।

बाकुमा चेकविरुद्ध डेनमार्कलाई जित दिलाउन थोमस डेलानी, कास्पर डोलबर्गले गोल गरे भने चेक रिपब्लिकका प्याट्रिक सिकले गोल गरेका थिए ।

५ औं मिनेटमै कर्नरमा हेडिङमार्फत गोल गर्दे डेलानीले डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए। ४२औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २–०ले पछि परेको चेकले दोस्रो हाफमा डेनमार्क माथि दबाब बनाएको थियो। ४९औं मिनेटमा सिकले गोल गर्दै चेकलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि कुनै गोल नहुँदा डेमार्क २–१ले विजयी भयो।

सिकको जारी प्रतियोगितामा यो पाँचौं गोल हो । योसँगै उनी प्रतियोगितामास सर्वाधिक गोल गर्ने खेलाडीमा क्रिस्टियानो रोनाल्डोसँगै शीर्ष स्थानमा छन्।

खेलमा ५६ प्रतिशत बल पोजेशन बनाएको चेकले डेनमार्कको पोस्टमा १६ सट प्रहार गरेको थियो, जसमा ५ सट फ्रेममा थियो । यता, डेनमार्कले ११ सट प्रहार गर्दा ७ सट फ्रेममा थियो।

Facebook Comments Box