
पुलिसलाई हराउँदै मनाङले जित्यो दमक गोल्डकप
दमक गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लब काठमाडौंले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल फुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो । फाइनल खेलमा मनाङका लागि अफिज ओलावलले र शिशिर लेखीले गोल गरे ।
दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ५९ औँ मिनेटमा ओलावललेले मनाङका लागि पहिलो गोल गरे । ६७ औँ मिनेटमा लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जित निश्चित गरे ।
जितसँगै मनाङले १३ लाख ११ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको पुलिसले ६ लाख ११ रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच विजयी टोलीका मौसा भए । उनले नगद दश हजार रुपैयाँ हात पारे ।
दमक नगरपालिकाको नगरखेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डर नेपाल पुलिस क्लबका अञ्जान राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट फर्वड पुलिसका नीरकुमार राई, उत्कृष्ट गोलकर्ता मनाङका अफिज ओलावाले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ घोषित भए ।
उनीहरुले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन उपरकोटी भए । उनले टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गरे ।