
दमक गोल्डकपको उपाधिका लागि मनाङ र पुलिस भिड्दै
दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब फाइनल भिड्ने भएका छन् । चिरप्रतिद्वन्द्वी यी दुईले दमक गोल्डकपको उपाधिका लागि दोस्रो पटक फाइनलमा खेल्न लागेका हुन् ।
पुलिस डिफेन्डिङ च्याम्पियन हो । २०७५ सालमा आयोजित गोल्डकपको फाइनलमा मनाङलाई हराएर पुलिसले उपाधि जितेको थियो ।
मनाङले सिजनको दोस्रो उपाधि जित्ने तयारीमा छ । खप्तड गोल्डकप जितेको तेस्रो सातापछि पूर्वबाट दोस्रो उपाधि उचाल्ने लक्ष्य राखेको मनाङका प्रशिक्षक राजेन्द्र तामाङले बताए । उनले आफ्ना खेलाडी सबै फिट रहेकाले उपाधि जित्न गाह्रो नहुने दाबी गरे । उनले यो सिजनमा पुलिससँगको भेटमा लगातार जित हासिल गर्दै आएकाले दमक गोल्डकपको फाइनल भेट नयाँ नभएको सुनाए ।
पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफूहरू सिजनको पहिलो उपाधि जित्ने रणनीतिमा रहेको बताए । साबिक विजेता भएकाले उपाधि रक्षा गर्ने आत्मविश्वास राम्रो रहेको उनले सुनाए । उनले फाइनलमा ९० मिनेटभित्रै नतिजा निकाल्ने गरी रणनीति बनाइरहेको बताए ।
यो सिजनमा तेस्रोपल्ट मनाङ र पुलिसको भेट हुन लागेको हो । यसअघि दुवै भेटमा मनाङले बाजी मारेको थियो । सेमिफाइनलमा दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबलाई पराजित गर्दै मनाङ र गोर्खा ब्वाइज रूपन्देहीलाई पराजित गर्दै पुलिसले फाइनल यात्रा तय गरेका हुन् ।
विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागततर्फ ७ खेलाडीलाई पुरस्कृत गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईंले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।