उद्दण्ड अल्मुताइरी, निरीह एन्फा

⦿ निर्वान झापाली

नेपाली फुटबल प्रशिक्षकको कुरा गर्दा ग्राहम रोबर्ट्स सबैभन्दा सफल प्रशिक्षकका रुपमा गनिन्छन्। जब–जब नेपाली फुटबलको नाम आउँछ, रोबर्ट्सको नाम सँगै जोडिएर आउँछ।

उनले सन् २०११ देखि २०१२ सम्म जम्मा एक वर्ष मात्र नेपाली टिम सम्हाले। तर, त्यो एक वर्षमा रोबर्ट्सले नेपाली फुटबललाई जुन उचाइमा पुर्‍याउन सफल भए, जति उपलब्धि दिलाए त्यसको अपेक्षा कसैलाई थिएन। लामो समयदेखि ओरालो लागेको नेपाली टिमलाई सम्हालेर उनले ऐतिहासिक उचाईमा पुर्‍याएका थिए।

त्यसैले उनी सधैं सबै नेपाली फुटबल फ्यानको मनमा बस्न सफल छन्। उनीपछि नेपाली टिममा जति पनि प्रशिक्षक आए कोही पनि उनको छायाबाट माथि उठ्न सकेनन्।

रोबर्ट्सले छाडेको झण्डै एक दशकपछि कोचका रुपमा आएका अब्दुल्लाह अल्मुताइरी पनि त्यसबाट अछुतो रहन सकेनन्। अखिल नेपाल फुटबल महासंघ (एन्फा)ले अल्मुताइरीलाई राष्ट्रिय प्रशिक्षकका रुपमा अनुबन्ध गरेको खबर सार्वजनिक भएपछि उनी रोबर्ट्सकै कसीमा राखेर तुलना गरिए।

तर, अल्मुताइरीको केही पक्षमा रोबर्ट्सको छायाबाट उम्किने कोसिस भने सफल देखिँदैछ। त्यो हो, नेपाली फुटबल फ्यानको समर्थन। तर, रोबर्ट्सले फ्यानबाट ‘समर्थन’ भने पाएका होइनन्, श्रद्धा पाएका हुन्। त्यसअर्थमा भने रोबर्ट्स र अल्मुताइरीबीचको यो तुलना सिधै रोबर्ट्सको अवमूल्यन हुनेछ।

र, यो लेखको लक्ष्य इतिहासकै सर्वाधिक सफल प्रशिक्षकसँग राष्ट्रिय टिमलाई चारवटा मात्र खेल खेलाएका वर्तमान प्रशिक्षकको तुलना गर्नु कदापि होइन। अल्मुताइरी रोबर्ट्ससँग तुलना गरिने स्थानसम्म अहिले पुगिसकेका छैनन्। त्यहाँसम्मको उनको बाटो निकै अप्ठ्यारो र अझै धेरै लामो छ।

फरासिला(?) अल्मुताइरी

अहिले अल्मुताइरीसँग जति ‘जनमत’ कसैसँग छैन। यदि उनले अहिले कुनै र्‍याली गर्न चाहे भने जुनसुकै नाम चलेको नेताभन्दा बढी मान्छे सडकमा उतार्न सक्छन्। त्यो पनि एउटा फेसबुक स्टाटासबाटै। यो एउटा उदाहरण मात्र हो, उनले त्यसो नगर्लान्। कम्तिमा अहिल्यै।

र, यो उनले किनेको ‘जनलहर’ भने होइन, कमाएका हुन्। अल्मुताइरी प्रशिक्षक बनेर आएपछि नेपाली फुटबल फ्यानमाझ आशाको नयाँ सञ्चार भएको छ। अब फुटबलमा ‘केही हुन्छ’ भनेर धेरैले अपेक्षा गरेका छन्।

नेपाली फुटबल दर्शकका लागि नेपाली फुटबल टिम सधैं आकाशको तारा जस्तो थियो– मनपर्ने, देखिरहने, तर असाध्यै टाढा, छुन नसकिने। अल्मुताइरीले सबैभन्दा पहिले त्यो दूरी कम गरिदिए, सामाजिक सञ्जालबाट।

अल्मुताइरी धेरैजसो फेसबुक चलाउँछन्, फेसबुकमा प्रशिक्षणको फोटो, भिडियो सेयर गर्छन्। फ्यानहरुलाई टिमको लक्ष्यका बारेमा जानकारी दिइरहन्छन्। कमेन्टमा फ्यानहरुसँग गफ पनि गर्छन्। यसले टिम र फ्यानबीचको अपनत्व बढाउन ठूलो भूमिका खेलेको छ।

अल्मुताइरीको सोसल मिडिया क्रेज उनको एउटा भिडियोले बढायो। राष्ट्रिय टिमको प्रशिक्षक भएर आएको केही समयपछि उनले पत्रकार सम्मेलनमा बोलेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। त्यो नेपालले विश्वकप छनोट खेल्न जानुअघिको थियो।

त्यो भिडियोमा उनले धेरै कुरा गरेका छन्। त्यसमध्ये ‘नेपालले जित्यो भने त्यसको श्रेय खेलाडीलाई दिनु, तर हारेको खण्डमा सबै दोष मेरो हुन्छ’ भन्ने भनाईले अल्मुताइरीलाई नेपाली फ्यानको प्रिय बनायो। अल्मुताइरी त्यो भिडियोमा स्पष्टवक्ताका रुपमा प्रस्तुत भएका छन्।

सो भिडियोमा उनले ‘फ्याक्ट’मा आधारित रहेर आफूलाई प्रस्तुत गरे भने केही भविष्यका योजनाको पनि चर्चा गरेका थिए। त्यो भिडियोले नेपाली फुटबल समर्थकहरुमा नयाँ जोश र उमंग भरिदियो। अल्मुताइरीको एउटा भिडियोले उनलाई नेपाली फुटबलका ‘मसिहा’का रुपमा उभ्याइदियो।

अहिले ति ‘मसिहा’का समर्थकहरू सामाजिक सञ्जालमा उनको विपक्षमा बोल्नेको हुर्मत लिन पनि पछि पर्दैनन्। अल्मुताइरीका कमीकमजोरी औंल्याउनेलाई ‘देशद्रोही’सम्म भन्न भ्याउँछन् उनका समर्थक।

अटेन्सन सिकर’ अल्मुताइरी

मुख्य प्रशिक्षक अल्मुताइरी पछिल्लो समय नेपाली फुटबलका सेलिब्रिटी नै हुन्। उनका जति फ्यान सायदै कसैका होलान्। र, विश्वभरका अधिकांश सेलिब्रिटीको एउटा अघोषित सिद्धान्त हुन्छ, बद्नाम होस्, तर गुमनाम नहोस्। नेपाल आएपछि पाएको नयाँ-नयाँ स्टारडमले अल्मुताइरी पनि सेलिब्रिटीहरुको त्यही लाइनमा क्रमशः मिसिइरहेका छन्।

खेल वा प्रशिक्षण भएको बेलामा उनी त्यही सम्बन्धि पोस्ट गर्छन्। त्यसले नेपाली फुटबल फ्यानलाई फुटबलसँग नजिक बनाउन टेवा पुर्‍याएको छ। तर, जब उनीसँग पोस्ट गर्न कार्यगत विषय हुँदैन, उनी गुमनाम नरहनका लागि ‘अटेन्सन सिक’ गर्न थाल्छन्।

फुर्सद हुँदा उनी कहिले फ्यानहरुलाई फुटबल सिकाइरहेका हुन्छन् त कहिले फ्यानहरुसँग कमेन्टमा घम्साघम्सी गरिरहेका हुन्छन्। अनि आफैं फेसबुकमा आफ्नो दैनिक टाइमटेबल सार्वजनिक गर्दै व्यस्त भएको हाँक पनि दिइरहेका हुन्छन्।

अल्मुताइरीले नेपाल आउँदा त्यसअघिका सामाजिक सञ्जालका गतिविधि सबै हटाएका छन्। अहिले उनको फेसबुकमा भएको पछिल्लो पोस्ट ७ अप्रिल २०२१ मा गरिएको छ। त्यसमा उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टको स्क्रिनसट राखेका छन्। इन्स्टाग्राममा भएको उनको पहिलो पोस्ट भने २०१२ को छ। अल्मुताइरीले नेपाल आउनु अघिको प्रशिक्षण कार्यकालमा त्यस्तो के गरेका थिए, जुन उनले नेपालीसँग लुकाउनुपर्‍यो?

सामाजिक सञ्जालमा अल्मुताइरीले गरेको पोस्ट देख्दा उनी राष्ट्रिय टिमको प्रशिक्षक कम ‘सोसल मिडिया इन्फ्लुन्सर’ बढी देखिन्छन्। उनको सोसियल मिडिया ‘स्टन्ट’लाई उनका समर्थकहरुले ‘फरासिलोपन’को रुपमा बुझेपनि त्यो उनको ‘अटेन्सन सिकिङ’ मात्र हो।

नेपालको विश्वकप छनोटको प्रदर्शनसम्म उनको सामाजिक सञ्जालको उपस्थिति सन्तुलित थियो। तर, छनोट चरणमा नेपालको खेल सकिएपछि भने उनको ध्यान प्रशिक्षणमा कम ‘स्टारडम’मा बढी देखिन थालेको हो।

पोस्ट गर्न केही पाएनन् भने उनी ‘म तपाईंहरुको मेसेज’ रिप्लाई गर्दैछु भनेर पनि पोस्ट गर्छन्। सामाजिक सञ्जाल उनको नितान्त व्यक्तिगत स्पेस हो, तर फेसबुकमा उनको उपस्थिति व्यक्ति अब्दुल्लाह अल्मुताइरीका रुपमा छैन, नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अल्मुताइरीका रुपमा छ।

र, जिम्मेवार तथा प्रतिष्ठित पदमा बसेपछि त्यो पदको एउटा मर्यादा राख्नुपर्छ। कहिलेकाहीँ उनी त्यो मर्यादा नाघेर फेसबुकका कमेन्टमा घम्साघम्सी गरिरहेका हुन्छन्। उनको पोस्टमा कसैले उनका कमीकमजोरी औंल्याएर कमेन्ट गरेको छ भने जाइलाग्न पनि पछि पर्दैनन्।

‘म राजीनामा दिन्छु, तपाईं आएर प्रशिक्षण दिनुस्’ भन्न पनि पछि पर्दैनन् उनी। कति अवसरमा उनले ‘मलाई मेरो काम गर्न नसिकाउनुस्, जान्ने भए मेरो सट्टा किन प्रशिक्षक नबनेको त?’ जस्ता प्रतिक्रिया समेत दिन्छन्। अल्मुताइरी यस्ता टिपिकल सेलिब्रिटी भएका छन् जसलाई केबल तारिफ चाहिएको छ। आलोचना गर्ने सबैलाई दुश्मन देख्छन्, उनी र उनका समर्थक।

एन्फा राजनीतिका नयाँ खेलाडी

नेपाली राजनीतिमा एउटा पुरानो चलन छ। आज एउटा कुरा गर्ने, भोलि त्यसको विपरित काम वा कुरा गर्ने। नेपालको फुटबल राजनीति हाम्रा लागि नयाँ होइन। तर, अल्मुताइरीका लागि नयाँ हो।

यद्यपि, उनी नेपाली फुटबल राजनीतिमा छिट्टै घुस्न सफल भए। फुटबल सिकाउन नेपाल आएका अल्मुताइरीले राजनीति सिके।

अल्मुताइरीलाई चर्चा दिलाएको भिडियोमा उनले आफू यहाँ फुटबल सिकाउन आएको बताउँदै त्यसैप्रति आफू निष्ठ रहने बताएका थिए। तर, उनको त्यो निष्ठा भत्किन धेरै समय लागेन। फुटबल कम, राजनीति बढी खेल्न थाले उनी।

तुर्किमिनिस्तानको प्रस्ताव लत्याएर विशुद्ध फुटबल खेलाउन नेपाल आएको उद्घोष गर्दै सिद्धान्तको बिगुल बजाएका अल्मुताइरी अहिले एकपछि अर्को विवादको सहनाईमा नाचिरहेका छन्। आफूलाई साइकोलोजीको विद्यार्थी भन्ने अल्मुताइरीको सार्वजनिक व्यवहार भने स्कुले विद्यार्थीको जस्तो पनि छैन।

स–साना कुरामा राजीनामाको घम्की दिँदै एन्फालाई घुर्की लगाउन उनी अभ्यस्त भइसकेका छन्। राजीनामा दिने घोषणा पनि उनले फेसबुकबाटै गरे। एन्फाका वरिष्ठ उपाध्यक्षको नामै किटेर मानहानी गरे। यो अहिले छानबिनको विषय बनेको छ। एन्फाले यसको जिम्मा खेलकुद मन्त्रालयलाई दिइसकेको छ।

तर, अल्मुताइरी राष्ट्रिय टिमका प्रशिक्षक हुन्, एन्फा पदाधिकारी र कार्यालय उनीभन्दा टाढा थिएनन्। उनको असन्तुष्टी पोख्ने ठाउँ एन्फा हो। तर, निराधार रुपमा प्रक्रियाभन्दा बाहिर गएर, फेसबुकका भित्तामा छरपस्ट पारेर उनले एन्फालाई एन्फाबाटै सिकेको राजनीतिको ‘डेमो’ देखाइदिए।

उद्दण्ड अल्मुताइरी भर्सेस निरीह एन्फा

एउटा प्रशिक्षक समग्र फुटबलभन्दा ठूलो हुँदैन। नियामक संस्था र सिंगो टिमभन्दा माथि हुँदैन। कतारले अनुदानमा पठाएका अल्मुताइरी पनि एन्फाभन्दा ठूला होइनन्। तर, एन्फासँग उनलाई कारबाही गर्न सक्ने हिम्मत देखिएन।

उनले लगातार एकपछि अर्को गल्ती गरिरहेका छन्। तर, अल्मुताइरी आफ्नो ‘पपुलिस्ट प्रोपागान्डा’ बोकेर फेसबुके भीडको काँधमा चढेर सिंगो संस्थाभन्दा अग्लो बनेर उभिएका छन्। उनले फुटबलको नियामक संस्थाका दोस्रो ठूलो पदाधिकारी माथि औंला तेस्याउँदा पनि एन्फाले उनलाई स्पष्टीकरण सोध्ने हिम्मत गर्न सकेन।

एन्फाले आफ्ना उपाध्यक्षलाई लगाएको गम्भीर आरोप पुष्टी गर्न प्रशिक्षकसँग सबुत माग्न सकेन। उपाध्यक्षको सामाजिक रुपमा मानमर्दन भइरहँदा एन्फा प्यारापिटमा बसेर रमिता मात्र हेरिरह्यो। विवादपछि एन्फाले उनलाई प्रशिक्षणमा सहभागी नहुन पत्र काट्यो। तर, अटेर गर्दै अल्मुताइरी प्रशिक्षणमा सहभागी भए। एन्फा फेरि पनि रमिते बनेर प्यारापिटबाटै तमासा हेरिरह्यो।

अल्मुताइरीले लगाएको आरोपमा जसको पनि गल्ती देखिन सक्थ्यो। उनीसँग यथेस्ट प्रमाण थियो भने एन्फाले उपाध्यक्ष नेम्बाङलाई कारबाही गर्नसक्थ्यो। उनीसँग सबुत थिएन भने उनलाई नै कारबाही गरेर घर फिर्ता पठाउन सक्नुपर्थ्यो। तर, एन्फा चुइँक्क बोल्न सकेन। उल्टै ‘राजीनामा नदिनुस्’ भन्दै बिन्ती बिसाउन गयो।

अल्मुताइरीले आफू आउनु अगाडि नेपालले फुटबल खेल्नै नजानेको पनि भन्न भ्याए। यसअघिका प्रशिक्षक र खेलाडीको अवमूल्यन गर्दै उनले नेपाली फुटबलको सिंगो इतिहासलाई नै ‘मिडल फिंगर’ देखाइदिए। त्यति हुँदा पनि आसन्न चुनावको स्वार्थले बाँधिएको एन्फा नेतृत्वले उनलाई कारबाही गर्नु त टाढाको कुरो स्पष्टीकरण सोध्न पनि आवश्यक ठानेन।

नेपाली फुटबल इतिहासका विषयमा गरेको टिप्पणीप्रति उनले फेसबुकबाट माफी त मागे तर, बोक्रे माफी। उनले माफी माग्दा आफू गलत भएको स्वीकार गरेका छैनन्। माफी मागेको निहुँमा उनी मलाई गलत बुझियो, अपव्याख्या गरियो भनेर चोखिन उद्दत देखिन्छन्।

‘मैले भनेका कुराहरुको गलत व्याख्या गरियो र बुझियो। म त्यसका लागि माफी माग्न चाहन्छु। सबै नेपाली र मलाई गलत बुझ्ने सबै पूर्व खेलाडी र कोचहरुसँग माफी माग्न चाहन्छु,’ उनले माफी माग्दै भनेका छन्। उनले गल्ती स्वीकारेका छैनन्। माफीको खोल ओढेर आफूलाई डिफेन्ड गरिरहेका छन्। अरुलाई नै दोष दिइरहेका छन्। यो माफीको ‘स्टन्ट’ले उनीसँग बिच्किएका एकाध समर्थक फेरि उनकै भक्तिगानमा फर्किने निश्चित छ।

तर, अझैपनि एन्फाले उनीसँग प्रश्न सोध्ने हिम्मत देखाउने छैन। न त आफ्ना उपाध्यक्षको मानहानीका लागि, न त नेपाली फुटबल इतिहासको अपमानका लागि, न त उसकै निर्णय अटेर गरेकामा एन्फाले उनलाई प्रश्न गर्नेछ। एन्फा आफ्नो निरीहता र स्वार्थमा जेलिएको छ। र, अल्मुताइरी एन्फाको निरीहता, एन्फा नेतृत्वको स्वार्थ, र नेपालको आर्थिक कमजोरीको मेलोमा नेपाली फुटबल फ्यानकै बुइ चढेर दाइँ गरिरहेका छन्।

यो पनि पढ्नुहोस्ः

⦿ एन्फा राजनीतिका नयाँ खेलाडी

⦿ प्रशिक्षक अलमुताइरीले धुम्रपान गर्दा किन आपत्ति? यस्तो छ इतिहास र फिफाको नियम

⦿ अलमुताइरीले फेर्लान् त नेपाली फुटबलको भविष्य ?

⦿ मेरो समर्थन नगरे हुन्छ, तर खेलाडीलाई सपोर्ट गर्नुस् : प्रशिक्षक अलमुताइरी

Facebook Comments Box