
राष्ट्रिय महिला लिग : चन्द्रा चम्किँदा पुलिसमाथि धनगढीको जित
चितवनमा जारी राष्ट्रिय महिला लिगमा धनगढी उपमहानगरपालिकाले विभागीय टिम नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्यो । चितवनको भरतपुरमा मंगलबार भएको खेलमा धनगढीले पुलिसमाथि ३–२को रोमाञ्चक जित निकाल्यो।
बलियो पुलिसविरुद्ध धनगढीलाई जित दिलाउन कप्तान चन्द्रा भण्डारीले दुई गोल गर्दा बिर्सना चौधरीले एक गोल गरिन्। पुलिसका लागि दुवै गोल रेखा पौडेलले गरिन्।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५५ औं मिनेटमा चन्द्रको गोलमा धनगढीले सुरुआती अग्रता लियो । चन्द्रले मैदानको मध्यभागबाट एलक प्रयासमा सुन्दर गोल गरेकी थिइन्।
६५ औं चन्द्राले नै गोल गरेपछिख खेलमा धनगढीले अग्रता दोब्बर बनायो । ७३ औं मिनेटमा रेखाले गोल गर्दै पुलिसलाई खेलमा फर्काउने प्रयास गरिन्। तर, ८२औं मिनेटमा बिर्सनाले गोल गरेपछि धनगढीले खेलमा ३–१ को अग्रता लियो । ८८औं मिनेटमा रेखाले पुनः गोल गरेपछि पुलिस ३–२ले पराजित भयो।
यो जितपछि धनगढीको ७ खेलमा १२ अंक जोड्दै धनगढी पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट १५ अंक बनाएको पुलिस तेस्रो स्थानमा छ।