ई–प्लानेट नेशनल कप फुटसल हुने

ई-प्लानेट नेशनल कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।  नेशनल कलेजको आयोजनामा हुने प्रतियोगिता साउन १७ र १८ हुने आज पत्रकारसम्मेलन मार्फत् जानकारी दिइयो ।

बालुवाटारमा रहेको ढुकु फुटसल हबमा हुने प्रतियोगितामा ३२ वटा कलेजको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी ३२ कलेजलाई ८ समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

सहभागी ३२ कलेजको समूहण विभाजन सोमबार नेशनल कलेज धुम्बाराहीमा एक कार्यक्रम आयोजना गरी गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेशनल कलेजका प्रिन्सिपल माधव न्यौपानेले अन्त-रकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने नेपालकै पहिलो कलेज नेशनल कलेज भएको बताउँदै आगामी दिनमा प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउँदै लैजाने बताए ।

ई–प्लानेटले मुख्य प्रायोजन गरेको प्रतियोगितालाई नेपाल एसबीआई बैंकले सह–प्रायोजन गरेको छ । प्रतियोगितामा प्लस-टु र ब्याचलर लेभलका विद्यार्थीको सहभागिता रहने छ । राष्ट्रिय टिममा प्रतिनिधित्व गरिसकेका, ए डिभिजिन लिग र राष्ट्रिय फुटसल खेलिसकेका खेलाडीले प्रतियोगितामा सहभागी हुन नपाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३५ हजार रुपैयाँ प्राप्त गर्ने छ भने दोस्रो हुनेले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गर्ने छ । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई बाह्रखरी डटकमले पुरस्कृत गर्नेछ भने सर्वाधिक गोलकर्तालाई सबैखेल डटकमले पुरस्कृत गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोलकिपरलाई पनि ट्रफी प्रदान गरिने फुटसल प्रतियोगिताका संयोजक रोविन पौडेलले जानकारी दिए । साथै टिम दर्ताका लागि ६ हजार रूपैयाँ लाग्ने पनि उनले बताए ।

सन् २०१० मा कलेजले पहिलोपटक फुटसल प्रतियोगिता आयोजना गरेको थियो । बीचमा रोकिएको प्रतियोगिता गत वर्षदेखि पुनः सुरु भएको हो । १६ टोली सहभागी रहेको गत वर्ष आयोजित प्रतियोगिताको उपाधि आयोजक नेसनल कलेजले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *