ला लिगामा डेब्यू गर्दै हाजार्ड

बेल्जियन स्टार स्ट्राइकर इडेन हाजार्डले शनिबार ला लिगामा डेब्यू गर्दै छन् । शनिबार बेलुकी ४ः४५ बजे बर्नाबेउमा हुने रियल म्याड्रिड र लेभान्तेबीचको खेलमा हाजार्डले ला लिगामा डेब्यू गर्न लागेका हुन् ।

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले शनिबार हुने लेभान्तेविरुद्धको खेलका लागि हाजार्ड उपलब्ध हुने बताएका छन् । उनले भने, ‘हामी हाजार्डले खेलेको हेर्न चाहन्छौं । उनी माथि दबाब पनि छ । उनीसँग हाम्रो पनि ठूलो अपेक्षा छ र रियलका लागि उनी महत्वपूर्ण छन् ।’ २१ दिनमा महत्वपूर्ण ७ खेल्ने सेड्यूल रहेकाले हाजार्डका उपस्थिति रियलका लागि महत्वपूर्ण रहेको जिदानले बताएका छन् ।

हाजार्ड यसैसिजन रियल म्याड्रिड आएका हुन् । उनलाई रियलले १ सय मिलियन युरो तिर्दै चेल्सीबाट ल्याएको हो । अघिल्लो सिजन पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्बल छाडेपछि खराब लयबाट गुज्रिरहेको रियलले हाजार्डबाट त्यस्तै प्रदर्शनको अपेक्षा गरेको छ ।

प्रिसिजन टुर सकिए लगत्तै हाजार्ड ट्रेनिङका क्रममा घाइते भएका थिए । त्यसपछि उनले ला लिगाका सुरुवाती ३ खेल गुमाएका थिए । घाइते भएकै कारण हाजार्डले बेल्जियमका लागि युरोकप छनोटअन्तर्गत सान मारिनो र स्कटल्यानडविरुद्धका २ खेल गुमाएका थिए ।

लुका मोड्रिच, मार्को ओसेन्सियो, इस्को, ब्राहिम डियाज, रोड्रिगोलगायत खेलाडी घाइते रहेकाले पनि हाजार्डको उपस्थिति रियलको लागि महत्वपूर्ण छ । रियलले ला लिगामा १ जित र २ बराबरी खेलेको छ ।

रियलले नयाँ सिजनका लागि हाजार्डसहित लुका जोभिच, रोड्रिगो, फ्रेलान्ड मेन्डी, टाकेफुसा कुबोलाई क्लब भित्र्याएको छ भने लोनमा रहेका जेम्स रोड्रिगेजलाई क्लबमै राखेको छ ।

रियलले १९ सेप्टेम्बरमा च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा फ्रेन्च क्बल पिएसजीसँग खेल्दै छ । यस्तै, २३ सेप्टेम्बरमा ला लिगमा सेभिल्ला, २६ सेप्टेम्बरमा ओसासुना र २९ सेप्टेम्बरमा एट्लेटिको म्याड्रिडसँग खेल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP