
एभर्टनमाथि भिल्लाको जित
इमिलिनो बुन्डियाको एकमात्र गोलको मद्दतले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले एएभर्टनमाथि १–० को जित निकालेको छ ।
गुडिसन पार्कमा भएको खेलमा एभर्टनका लागि डन्कन फर्गुसन दोस्रोपल्ट निमित्त व्यवस्थापकका रूपमा उत्रेका थिए । त्यसको पहिलो खेल हारमा टुंगियो ।
यो जितपछि २३ अंकसहित भिल्ला १३ औं स्थानमा रह्यो । हारले एभर्टनमाथि रेलिगेसन तनाब बढेको छ । एभरटन १९ अंक लिएर १६ औं स्थानमा छ । यो रेलिगेसन क्षेत्रबाट ५ अंकको अग्रतामात्र हो ।
खेलको निर्णायक गोल बुन्डियाले पहिलो हाफको इन्ज्युरी समयमा गरे । उनले कर्नरमा उत्कृष्ट हेड गर्दै गोल गरेका हुन् । त्यसमा एभरटन गोलरक्षक जोर्डन पिकफोर्डसामु बचाउको कुनै अवसर थिएन ।
भिल्लाको यो जितमा दुई खेलाडीमाथि दर्शकदीर्घाबाट गरिएको बोतल प्रहारले तनावपूर्ण पनि रह्यो । बुन्डियाको गोलमा खुसी मनाउने क्रममा लुकास डिग्ने र म्याटी क्यासलाई ताकेर प्लास्टिकको बोतल प्रहार गरिएको थियो । त्यसले दुवै खेलाडीलाई चोट भने लागेन ।