इंग्ल्यान्ड इतिहासमै पहिलोपटक युरोकप फाइनलमा, उपाधिका लागि इटालीसँग भिड्ने

लण्डनस्थित वेम्बली स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप इतिहासमा पहिलोपटक फाइनलमा प्रवेश गरेको छ। एक्स्ट्रा टाइममा डेनमार्कलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले इटालीसँगको उपाधि भिडन्त पक्का गरेको हो।

एक गोलले पछि परेको अवस्थाबाट कमब्याक गर्दै इंग्ल्यान्डले जित हात पारेको थियो। पहिलो हाफको ३०औं मिनेटमा डेम्स्गार्डले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि डेनमार्कले अग्रता लिएको थियो। डेम्स्गार्डको सो फ्रिकिक गोल जारी युरोकपमा फ्रिकिकबाट गरिएको पहिलो डिरेक्ट गोल हो।

तर, ३९औं मिनेटमा डेनमार्कका सिमोन केजरले आत्मघाती गोल गरेपछि इंग्ल्यान्ड खेलमा फर्किएका थियो। इंग्ल्यान्डका बुकायो साकाले रहीम स्टर्लिङका लागि निकालेको सटिक पासलाई डिफेन्ड गर्न खोज्दा केजरले आत्मघाती गोल गरेका थिए। जारी युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका आर्सनलका साकाले इंग्ल्यान्डबाट युरोकपको सेमिफाइनल खेल्ने सबैभन्दा कान्छो उमेरका खेलाडीको कीर्तिमान पनि कायम गरेका छन्।

निर्धारित ९० मिनेटको बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल एक्स्ट्रा टाइममा गएको थियो। एक्स्ट्रा टाइमको पहिलो हाफमा भारको परामर्शमा इंग्ल्यान्डले विवादित पेनाल्टी पाएको थियो।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले प्रहार गरेको पेनाल्टी डेनमार्कका गोलकिपर क्यास्पर स्माइकलले रोक्न सफल भए। तर, उनले बल समात्न भने सकेनन् र रिबाउन्ड भएको बलमा केनले नै गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए।

बाँकी समयमा गोल हुन नसकेपछि इंग्ल्यान्डले युरोकपको फाइनलमा प्रवेश गर्दै इतिहास कायम गर्न सफल भयो। अब आइतबार राती १२ः४५ बजे वेम्बली स्टेडियमै हुने फाइनल खेलमा इंग्ल्यान्डले इटालीको सामना गर्नेछ।

इटालीले जारी युरोकपका हरेक खेल जितेको छ भने र इंग्ल्यान्डले पनि आफ्ना एउटै खेल हारेको छैन। दुई अपराजित टिमबीचको उपाधि भिडन्त रोमाञ्चक हुनेछ।

Facebook Comments Box