रास्फोर्डको गोलमा इंग्ल्यान्ड विजयी

युरोकपको तयारी स्वरुप भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड विजयी भएको छ। मार्कस रास्फोर्डले निर्णायक गोल गरेपछ मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले आइतबार रोमानियालाई १–० ले हराएको हो।

घरेलु मैदान रिभरसाइड स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६८औं मिनेटमा मार्कस रसफोर्डले इंग्ल्यान्डका लागि निर्णायक गोल गरेका थिए । रोमानियाका कापुसाले पेनाल्टी एरियामा ज्याक ग्रिलिसलाई फाउल गरेपछि इंग्ल्यान्डले पेनाल्टीको मौका पाएको थियो।

इंग्ल्यान्डको कप्तानी पनि रसफोर्डले नै गरेका थिए । यसक्रममा उनी २३ वर्ष १८ दिनको उमेरमा इंग्लिस फुटबल टिमको कप्तान हुने सबैभन्दा कान्छो खेलाडीसमेत बनेका छन्।

खेलको ७८औं मिनेटमा पनि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । तर, रासफोर्ड मैदान बाहिर निस्केकोले जोर्डन हेन्डरसनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

घोषित टोलीका ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड घाइते हुँदै युरोकबाट बाहिरिएपछि इंग्लिस टिममा एक स्थान खाली छ । त्यसैले प्रशिक्षक गारेथ साउथगेटले रोमानिया विरुद्ध जेम्स वार्ड प्रोव, बेन गोडफ्रे र बेन ह्वाइट, जेस लिनगार्ड र ओली विट्किन्सलाई अवसर दिएका थिए ।

जुन ११ देखि जुलाई ११ सम्म हुने युरोकपमा इंग्ल्यान्ड समूह डी मा रहेको छ । यस समूहमा क्रोएसिया,स्कटल्याण्ड र चेक रिपब्लिक छन् ।

Facebook Comments Box