पेनाल्टी हान्दा डेनमार्कका किपरको आँखामा लेजर लाइट, युइएफएद्वारा इंग्ल्यान्डलाई कारबाहीको तयारी

युरोपेली फुटबल संघहरुको नियामक निकाय युइएफएले इंग्ल्यान्डलाई कारबाही गर्ने भएको छ। पेनाल्टी प्रहार गर्ने क्रममा खेलभावना विपरित कार्य गरेको आरोपमा युइएफएले कारबाहीको तयारी गरेको छ।

जारी युरोकप २०२० अन्तर्गत वेम्बली स्टेडियममा भएको इंग्ल्यान्ड र डेनमार्कबीचको खेलको एक्स्ट्रा टाइममा इंग्ल्यान्डले पेनाल्टी पाएको थियो। इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी प्रहार गर्ने बेलामा डेनमार्कका गोलकिपर क्यास्पर स्माइकलको आँखामा लेजर लाइट बालिएको भिडियोमा देखिएको थियो।

इंग्ल्यान्डका समर्थकले उनको आँखामा लेजर लाइट बालिदिएका कारण असहज भएपछि स्माइकलले केनको पेनाल्टी रोकेपनि बल समात्न नसकेको धारणा दिनभर सामाजिक सञ्जालमा आएका थिए। पेनाल्टी रोकेर डिफ्लेक्ट भएको बलमा केनले नै गोल गरेपछि इंग्ल्यान्ड २–१ ले विजयी हुँदै पहिलोपटक युरोकप फाइनलमा प्रवेश गरेको थियो।

यस्तै, खेल सुरु हुनुअघि डेनमार्कको राष्ट्रिय गान बज्दै गर्दा पनि ‘अवरोध’ पु¥याएको आरोप इंग्ल्यान्डलाई लागेको छ। डेनमार्कको राष्ट्रिय गान बजेको समयमा पटका पड्काएर तथा ‘बू’ गरेर अवरोध गरेको आरोप इंग्ल्यान्डलाई लागेको हो।

मैदानमा उपस्थित इंग्ल्यान्डका फ्यानले डेनमार्कको राष्ट्रिय गान बज्दा धुत्कार गर्ने आवाज निकालेर डेनमार्कको राष्ट्रिय गानको अपमान गर्दै खेल भावना विपरित कार्य गरेको युईएएफएको ठहर छ।

इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले पनि इंग्ल्यान्डका समर्थकको यस्तो कार्यको खण्डन गरेका छन्। फुटबल फ्यानहरुले कसैले धुत्कार्न नहुने र फुटबलका मार्फत् सम्मान र समभावना फैलाउनु पर्ने बताउँदै प्रधानमन्त्रीका प्रवक्ताले आफ्नै देशका समर्थकहरुको आलोचना गरेका थिए।

युइएफएले यो विषय आफ्नो अनुशासन समितिलाई जिम्मा दिँदै आवश्यक कारबाही गर्न सुझाव दिएको छ। वेलायतको फुटबल संघले पनि खेद प्रकट गर्दै युईएफएको इथिक्स तथा अनुशासन कमिटीलाई यो मुद्दालाई गम्भिरतापूर्वक सम्बोधन गर्न अनुरोध गरेको छ।

यसैगरी, युईएफएले स्माइकलको आँखामा लेजर लाइट बाल्ने व्यक्ति पनि पत्ता लगाउने कोसिस गरिरहेको छ। तर, उपलब्ध भिडियो फुटेजबाट अहिलेसम्म सो लाइटको स्रोत पत्ता लागिसकेको छैन।

युईएफएले डेनमार्कसँग यी दुई मुद्दामा इंग्ल्यान्डमाथि आधिकारिक उजुरी दायर गर्ने वा नगर्ने भनेर विमर्श गरेको थियो। डेनिस फुटबल संघले नहुनु भइसकेकाे भन्दै अब गुनासो गर्नुको अर्थ नरहेको बताएको छ। र, अब यो घटनालाई थप तन्काएर बखेडा खडा गर्न आफुहरू इच्छुक नरहेको पनि स्पष्ट पारेको छ।

आफ्ना स्टार खेलाडी क्रिस्टियन एरिक्सन बिना युरोकप खेलेको डेनमार्क सोही विवादास्पद पेनाल्टीका कारण फाइनल पुग्नबाट बञ्चित भएको थियो। यद्यपी, डेनमार्कले इंग्ल्यान्डविरुद्ध उजुरी गर्न नचाहेको बताएको छ।

Facebook Comments Box