इंग्ल्यान्डले बेल्जियमलाई हरायो

यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले बलियो प्रतिद्वन्दी बेल्जियमलाई पराजित गरेको छ । वेम्बलीमा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई २–१ले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर इंग्ल्यान्डले जित निकालेको हो । इंग्ल्यान्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले एक–एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने बेल्जियमले लिएको थियो । १६औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । इंग्ल्यान्डका एरिक डायरले लुकाकुलाई डिबक्समा लगाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो ।

तर, खेलको ३९ औं मिनेटमा रासफोर्डले पेनाल्टीमै गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । बेल्जियमका थोमस मुनियरले जोर्डन हेन्डरसनलाई डिबक्समा फउल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । त्यसपछि खेलको ८५ औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए ।

जितसँगै इंग्ल्यान्ड लिग ‘ए’ समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको छ । बेल्जियमको यो पहिलो हार हो । दोस्रो स्थानको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP