प्रिमियर लिगमा अनपेक्षित नतिजा, के इपिएलले पाउला त नयाँ विजेता ?

पत्याउनै गाह्रो हुने नतिजाको शृंखलाले देखाएको छ, यसपल्टको इंग्लिस प्रिमियर लिग अति साह्रो अनुमान लगाउनै गाह्रो प्रतियोगिता हुने छाँट छ । फरक परिस्थिति र वातावरणमा अहिले चलिरहेको प्रतियोगितामा हुन सक्छ, यसपल्ट अनपेक्षित विजेताको सम्भावना पनि रहेको छ ।

म्यानचेस्टर सिटीले गत सप्ताहन्त इतिहादमै लेस्टर सिटीको हातबाट पाँच गोल खायो । त्यस मैदानमा भएका ४ सय ३५ खेलमा सिटीले यति धेरै गोल खाएको यो पहिलोपल्ट थियो । लिभरपुल पनि के कम ? लिग च्याम्पियन टिम लिभरपुल एस्टनभिल्लासँग असाधारण रूपमा ७–२ ले पराजित भयो । यस्तोमा इंग्ल्यान्डको माथिल्लो डिभिजनमा च्याम्पियन टिमले सात गोल खाएको यो १९५३ यता पहिलो रह्यो ।

त्यतिबेला आर्सनलले सन्डरल्यान्डसँग यस्तै नियति बेहोरेको थियो । जे होस्, यसपल्ट सामान्य मान्न नसकिने स्थितिमा फुटबल चल्दैछ र गोलको त बहार नै आएको छ । लिभरपुलको त्यो खेल अगाडि म्यानचेस्टर युनाइटेड पनि स्तब्धपूर्ण हार बेहोर्न बाध्य रह्यो ।

टोटनहमले उसलाई ६–१ ले हरायो । यस्तोमा लिगको यो चरणमै मात्र ४१ गोल भए । गत महिना मात्र एकै चरणको खेलमा सर्वाधिक गोल भएको कीर्तिमान बनेको थियो, यस यसपल्टको संख्या त्यो कीर्तिमानबाट तीन गोल मात्र पछाडि रह्यो ।

अहिलेसम्मको प्रवृत्तिले देखाएको छ, प्रिमियर लिग वास्वतमै अनुमान नै गर्न नसकिने प्रतियोगिता भएको छ, अनि यसले लिगलाई आफैंमा बढी सनसनीपूर्ण पनि बनाएको छ । लिभरपुलका पूर्वरक्षक जेमी क्यारिघर भन्छन्, ‘म त लिग यस्तै होस भन्ने चाहन्छु ।’

उनले स्काई स्पोर्ट्समा भनेका छन्, ‘लिग जित्न ९५ अंक चाहिनु एक अर्थमा राम्रो हो, तर यसले लिग आफैंलाई भने राम्रो गरिरहेको थिएन् । मलाई कोही पनि टिमले ८० अंकको हाराहारीमा लिग जिते त्यो ठीक लाग्छ । त्यसको अर्थ विजेता टिमले पनि धेरै खेल हारेको हुनेछ र यसले लिगलाई वास्तवमै रोमाञ्चक बनाउने छ । अनि स्थिति पनि त्यस्तो हो, चौथोदेखि पाँचौं स्थानमा रहने टिम पनि धेरै पछाडि नहोस् । मलाई लाग्छ, यसपल्टको लिग वास्तवमै फरक हुनेछ ।’

कोभिड–१९ (कोरोना) भाइरस संक्रमणको महामारीका कारण रंगशालामा दर्शकको उपस्थिति अझै हुन सकेको छैन । कहिले हुनेछ, त्यो पनि टुंगो छैन । यस्तोमा घरेलु मैदानको फाइदा लुप्त प्रायः भएको छ । घरमा आफ्नै दर्शक अगाडि जित्ने क्रम अब रहेन । धेरै गोल हुनु पछाडि अर्को पनि ठूलो कारण छ र यो हो, कम समयमा धेरै खेल खेल्नु पर्ने । टिमले त अचेल अभ्यासको मौका नै पाउन छाडेको छ, त्यसैले खेल नै अभ्यास हुन थालेको छ र यस्तोमा गोल पनि बढी निस्कन थालेको छ, वास्तविक अभ्यासमै जस्तै ।

अझ क्यारिघर त के मान्छन् भने अप्रत्याशित नतिजा अझ आउन बाँकी छ, हेर्दै जाऔं । गत सिजन एस्टन भिल्लाले अन्तिम दिन मात्र रेलिगेसन हुनबाट आफूलाई बचाएको थियो, अहिले यही टिमले च्याम्पियनलाई नराम्रोसँग माथ दिएको छ । फेरि अहिले लिग अंक तालिकामा को अगाडि छ भन्दा एभरटन छ । उनी भन्छन्, ‘यसपल्ट प्रि–सिजनका खेल पनि भएनन्, यसले पनि धेरै फरक पारेको छ ।’ एभरटनले सुरुआती चारै खेल जितेर सानदार सुरुआत गरेको छ ।

यो पनि अपेक्षित थिएन । खासमा कोही पनि प्रशिक्षकले टिम ढंगले बनाउनै पाएका छन् । अधिकांश टिमले आफ्नो रक्षापंक्तिलाई मजबुत नै बनाउन सकेको छैन । त्यसैले कारिघरको निचोड छ, ‘यसपल्ट हामीले फेरि एकपल्ट लेस्टर सिजन देख्न पाउन बेर छैन । हुन सक्छ, शीर्ष चारमा पनि अनपेक्षित टिम नै हुनेछन् । यो सब प्रिमियर लिगका लागि राम्रै हो ।’ सबैलाई थाहा छ, लेस्टरले सन् २०१५/१६ को सिजन अविश्वसनीय पाराले जितेको थियो ।

(साभारः कान्तिपुर दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP