युरोकपमा आज तीन खेलः नकआउट पुग्ने कसको सम्भावना कति ?

युरोपका विभिन्न ११ सहरमा भइरहेको युरोकप अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन्।

पहिलो खेलमा आज स्विडेन र स्लोभाकिया आमनेसामने हुनेछन्। नेपाली समय अनुसार सो खेल साँझ ६ः४५ मा हुनेछ। जारी प्रतियोगितामा यो दुवै टिमको दोस्रो खेल हो।

स्विडेनले आफ्नो पहिलो खेलमा स्पेनको सामना गरेको थियो। पोजेसनमा स्पेनले एक पक्षीय पकड बनाए पनि खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

स्लोभाकियाले भने आफ्नो पहिलो खेलमा ३ अंक जोडेको थियो। पोल्यान्डविरुद्धको खेलमा २–१ ले विजयी हुँदै स्लोभाकियाले युरोकपमा विजयी सुरुवात गरेको थियो।

यसैगरी, दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिँड्दैछन्। राती ९ः४५ बजे हुने खेलमा दुवै टिम नकआउट चरणमा आफ्नो स्थान बनाउनका लागि जितको खोजीमा रहनेछन्।

समूह चरणको पहिलो खेलमा इंग्ल्यान्डको सामना गरेको क्रोएसियाले निराशाजनक प्रदर्शन गरेको थियो। विश्वकप २०१८ को फाइनलसम्म पुगेको क्रोएसियाले युरोकपको पहिलो खेलमा भने १–० ले पराजित हुँदै इंग्ल्यान्डलाई नतिजा सुम्पेको थियो।

चेक रिपब्लिकले भने प्रतियोगितामा विजयी सुरुवात गरेको थियो। स्कटल्यान्डविरुद्ध खेलेको पहिलो खेलमा २–० को जित निकाल्दै चेक ३ अंक जोड्न सफल भएको थियो।

तेस्रो खेलमा स्कटल्यान्डले इंग्ल्यान्डको सामना गर्नेछ। स्टार खेलाडीले भरिएको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षीत गर्ने दाउमा रहनेछ।

स्कटल्यान्ड भने नकआउटको सम्भावना कायम राख्न संघर्षरत हुनेछ। पहिलो खेल गुमाएको स्कटल्यान्डले आजको खेल पनि गुमाएको खण्डमा उसको प्रतियोगिताबाट बाहिरिने सम्भावना बढ्नेछ।

Facebook Comments Box