युरोकपः आजबाट समूह चरणका अन्तिम खेलहरु सुरु

युरोपका विभिन्न ११ सहरमा भइरहेको युरोकप २०२० अन्तर्गत सबै समूहका दुई चरणका खेलहरु सकिएका छन्। यससँगै आजबाट समूह चरणका अन्तिम खेलहरु हुँदैछन्।

यसअघि फरक समयमा भइरहेका खेलहरु अब अन्तिम चरणबाट भने एकै समयमा हुनेछन्। जसअन्तर्गत आज समूह ‘ए’का दुई खेलहरु एकैपटक राती ९ः४५ मा हुँदैछन्।

इटालीको रोमस्थित स्टेडियो ओलिम्पिकोमा इटाली र वेल्स भिँड्दैछन् भने अजरबैजानको बाकुस्थित बाकु ओलम्पिक स्टेडियममा स्विट्जरल्यान्ड र टर्कीबीच खेल हुनेछ।

दुई खेलमा ६ अंक बटुल्दै इटाली नै नकआउट चरणमा प्रवेश गरिसकेको छ भने वेल्स कम्तिमा १ अंक जोड्दै नकआउट चरणमा स्थान पक्का गर्ने दाउमा रहनेछ। वेल्सले दुई खेलबाट ४ अंक जोडेको छ।

यस्तै, अर्को खेलमा भने दुवै टिम जितको खोजीमा हुनेछन्। स्विट्जरल्यान्ड र टर्कीमध्ये जो विजयी हुन्छ उसको नकआउट चरण पुग्ने सम्भावना कायम रहनेछ। स्विट्जरल्यान्डको दुई खेलमा १ अंक छ भने दुवै खेल गुमाएको टर्की अंकविहीन छ। खेल बराबर भएमा भने टर्की समूह चरणबाटै घर फर्किनेछ भने स्विट्जरल्यान्डको नकआउट प्रवेश अन्य समूहका टिमको नतिजमा निर्भर रहनेछ।

युरोकपको अन्तिम १६ मा ६ वटा समूहका शीर्ष दुई टिमले सोझै प्रवेश पाउँछन्। बाँकी ४ वटा टिम भने समूह चरणमा तेस्रो स्थानमा रहेका टिममध्ये उच्च अंक ल्याउने शीर्ष ४ टिम हुनेछन्।

Facebook Comments Box