म्याच प्रिभ्यू : सन् २०१६को सफलता दोहोर्‍याउने वेल्सको चाहना, एरिक्सनका लागि खेल्दै डेनमार्क

युरोकप २०२० को नकआउट चरण आजबाट सुरु हुँदै छ । आजराति ९ः४५ बजे नेदरल्यान्ड्सको आम्स्टर्डममा वेल्स र डेनमार्कको बीचको खेलसँगै युरोकपको नकआउट चरण सुरु हुनेछ।

यी दुई टिम समान स्तरका छन् । र, दुवै टिम समूहमा उपविजेता हुँदै नकआउट चरण पुगेका हुन् । डेनमार्क युरोकपको पूर्वविजता हो, तर वेल्स पनि उसलाई टक्कर दिन तयार छ । र, त्यसको लागि सक्षम पनि । किनभने उ अघिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको हो, यो पटक पनि त्यही सफलता दोहोर्याउन चाहन्छन्।

यता, डेनमार्कका लागि यो भावनात्मक रहेको छ। आफ्ना सबैभन्दा ठूला स्टार खेलाडी युरोकपको पहिलो खेलमै खेलकै क्रममा मैदानमै ढलेपछि डेनमार्कका लागि यो प्रतियोगिता नै भावनात्मक बनेको छ।

समूह चरणको पहिलो खेलमा फिनल्यान्डविरुद्ध खेल्न क्रममा पहिलो हाफको अन्त्यतिर उसका क्रिस्टियन एरिक्सन बेहोस् भएर मैदानमै ढलेका थिए। हृदयघात भएका उनलाई मैदानमै १५ मिनेट सिपिआर गरिएको थियो भने खेल बीचमै रोकिएको थियो । पछि उनलाई अस्पताल पुर्याइएको थियो । मैदानमै तत्कालै उपचार पाएका एरिक्सनले मृत्युलाई जितेका थिए। अहिले पनि उपचार घर फर्किसकेका छन्।

त्यसैले डेनमार्कले युरोकपका सबै खेल एरिक्सनप्रति सर्पित गरेको छ । त्यसले डेनमार्क टिमलाई भावनात्मक रुपमा बलियो बनाएको छ भने खेलाडीमा उर्जा पनि थपेको छ । त्यो उर्जा समूह चरणका अन्तिम दुई खेल (बेल्जियम र रुस)विरुद्ध देखिएको थियो।

समूह चरणका सबैखेल डेनमार्कले घरेलु मैदानमै खेल्यो । यो युरोकपमा उसले घरबाहि पहिलो पटक खेल्दै छ । एरिक्सन बेहोस भएको खेलमा उ फिनल्यान्डसँग १–०ले पराजित भएको थियो बेल्जियमदोस्रो खेलमा ऊ बेल्जियमसँग २–१ले पराजित भएको थियो । तर, तेस्रो खेलमा रुसलाई ४–१ ले हराउँदै समूहमा दोस्रो हुँदै ऊ नकआउट चरण पुगेको हो।

वेल्सले समूह चरणका तीन दुई रंगशालामा खेल्यो । पहिला २ खेल अजरबैजानको बाकुमा खेलेको उसले समूह अन्तिम खेल घरेलु टोली इटालीसँग रोममा खेल्यो । सुरुआती २ खेलमा जित र बराबरी खेलेको उ अन्तिम खेलमा इटालीसँग १–०ले पराजित भएको थियो।

उसले बाकुमा भएको पहिलो खेल स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेल टर्कीलाई २–०ले हराएको थियो। ४ अंकसहित उ समूह एबाट दोस्रो हुँदै नकआउट पुगेको हो। वेल्सका प्रशिक्षक रोबर्ट पेज प्रत्येक खेल फरक मैदानमा खेल्नु किनै गाह्रो हुने बताउँछन्।

वेल्सलाई सन् २०१६ कै सफलता दिलाउने हो भने अनुभवी खेलाडीद्वय कप्तान गारेथ बेल र आरोन राम्सी पुनः एक पटक चम्कनु पर्ने छ। समूह चरणको दोस्रो खेलमा टर्कीविरुद्ध दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए। सो खेलमा बेलले पेनाल्टीमा गोल गर्न नसकेपनि दुवै गोलमा उत्कृष्ट असिस्ट दिएका थिए।

यता, डेनमार्कले पिएरे एमिल होजबर्ग, कप्तान सिमोन केजर र स्ट्राइकर मार्टिन ब्रेथवेटबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ। तर, डेनमार्कका प्रशिक्षक कास्पर हजुलमन्डले वेल्सविरुद्ध खेल्न निकै गाह्रो हुने बताएका छन् । उनले छिनछिनमा रणनीति परिवर्तन गर्दै खेल्ने हुनाले वेल्सविरुद्ध निश्चित रणनीति बनाएर खेल्न कठीन हुने बताए।

डेनमार्क र वेल्स अहिलेसम्म १० पटक भिडेका छन् । जसमा डेनमार्क ६ खेलमा विजयी भएको छ भने ४ खेलमा वेल्स विजयी भएको छ । ती खेलमा डेनमार्कले १२ गोल गर्दा वेल्सले ९ गोल गरेको छ। अन्तिम पटक यी दुई टिम सन्२०१८ को नोभेम्बर ७मा युईएफए नेसन्स लिगमा भिडेका थिए । सो खेलमा डेनमार्क २-१ले विजयी भएको थियो।

Facebook Comments Box