म्याच प्रिभ्यू : जितको निरन्तरतामा बेल्जियम, नेदरल्यानड्स र अस्ट्रिया, पहिलो जितको खोजीमा डेनमार्क, युक्रेन र म्यासेडोनिया

११ जुनबाट सुरु भएको १६औं संस्करणको युरोकपमा आज तीन खेल हुँदै छन् । समूह बी र सीका ती तीन खेलमा युक्रेन र नर्थ म्यासेडोनिया, बेल्जिम र डेनमार्क तथा नेदरल्यान्ड्स र अस्ट्रिया भिड्ने छन्।

आजको पहिलो खेल रोमानियाको बुकारेस्टमा हुने छ। साँझ ६ः४५ मा सुरु हुने खेलमा युक्रेन र नर्थ म्यासेडोनिया भिड्ने छन् । दुवै प्रतियोगितामा पहिलो जितको खोजिमा हुने छन् ।

समूहको पहिलो खेलमा युक्रेन उत्कृष्ट प्रदशनका बाबजुद नेदरल्यान्डसँग ३–२ले पराजित भएको थियो। त्यसैले उ नर्थ म्यासेडोनियालाई हराउँदै अघिल्लो चरण प्रवेशको सम्भावना जीवितै राख्न चाहन्छन् । यता, पहिलो खेलमा अस्ट्रियासँग ३–१ले पराजित भएको नर्थ म्यासेडोनिया पनि युक्रेनलाई हराउँदै यरोकपलाई यादगार बनाउन चाहन्छ । नर्थ म्यासेडोनिया पहिलोपटक युरोकप खेलिरहेको छ।

राति ९ः४५ बजेमा सेन्ट पिटर्सबर्गमा सुरु हुन दोस्रोमा घरेलु टोली डेनमार्क र बेल्यिजम भिड्ने छन्। फिनल्यान्डविरुद्धको खेलमा क्रिस्टियन एरिक्सन अचेत भएर ढलेको ५ दिनपछि बिहीबार डेनमार्क फेरि एकपल्ट मैदानमा फर्कंदै छ । शनिबारको त्यो घटनापछि खेल्नु डेनमार्कका खेलाडीका लागि भावनात्मक पक्कै हुनेछ ।

डेनमार्कका समर्थकले पनि खेलको दसौं मिनेटमा उभिएर एरिक्सनलाई सम्मान गर्ने निर्णय गरेका छन्, किनभने एरिक्सनको जर्सी नम्बर १० हो । त्यतिबेला उनको नाम रंगशालामा गुन्जने पक्का छ ।

एरिक्सन घाइते भएको खेलमा डेनमार्क फिनल्यानडसँग १–०ले पराजित भएको थियो। त्यसैले डेनामार्क ती दुवै पीडाबाट निस्कँदै जितका लागि मैदान उत्रने छ। यता, बेल्जियमको ध्यान शतप्रतिशत नतिजामा हुने छ। उसले पहिलो खेलमा रुसलाई ३–०ले हराएको थियो । डेनमार्कलाई हराउन सके ऊ एक खेल बाँकी छँदै अन्तिम १६मा प्रवेश गर्ने छ।

दुई टिमबीच अहिलेसम्म १५ पटक प्रतिस्पर्धा भएको छ। जसमा दुवैले समान ६ जित निकालेको छन् भने तीन खेल भने बराबरीमा सकिएका छन्। विगतको नतिजा जे भएपनि वर्तमान अवस्थामा डेनमार्कभन्दा बेल्जियम बलियो देखिएको छ।

बिहीबारको अन्तिम खेल नेदरल्यान्ड्स र अस्ट्रियाबीच हुने छ। खेल आम्सटर्डममा राति १२ः४५ बजे हुने छ। पहिलो खेलमा दुवै टिम विजयी रहेकाले दुवै टिमको ध्यान जितको निरन्तरतामा हुने छ।

पहिलो खेलमा नेदरल्यान्ड्सले युक्रेनमाथि ३–२को रोमाञ्चक जित निकालेको थियो भने अस्ट्रियाले नवप्रवेशी मेसेडोनियालाई ३–१ले हराएको थियो। पछिल्ला ६ खेलयता शतप्रतिशत नतिजा निकालेको नेदरल्यान्ड्सलाई रोक्नु अस्ट्रियाका लागि त्यति सहज भने हुने छ। खेलमा स्पष्ट नतिजा निस्किए अन्तिम १६ पुग्ने अर्को टिमको टुंगो लाग्ने छ।

नेदरल्यान्ड्स सात वर्षपछि कुनै ठूलो प्रतियोगिता खेलिरहेको छ, त्यसैले डच टिम चाहन्छन्, आफ्नो गर्विलो इतिहासअनुसार प्रदर्शन खेलन सकोस् । डच टिमको उद्देश्य यस खेल जितेर समूहमा शीर्ष भएर अगाडि बढ्ने हुनेछ । यता, अस्ट्रियाको लक्ष्य पनि त्यही हुनेछ, नेदरल्यान्ड्सविरुद्ध भिड्नुअघि युरोकप इतिहासमै पहिलो जित निकालेको अस्ट्रियन टिम उत्साहित छ।

नेदरल्यान्ड्सले पछिल्ला ६ खेलमा १९ गोल गरेको छ। ती सबै खेलमा नेदरल्यान्ड्स विजयी भएको छ।

Facebook Comments Box