रेन्जर्स र फ्रान्कफुर्ट युरोप लिगको फाइनलमा

Read Time:2 Minute

स्कटिस क्लब रेन्जर्स र जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्ट युरोपा लिगको उपाधिका लागि भिड्ने भएका छन्।

आइब्रक्स स्टेडियम ग्लास्गोमा बिहीबार राति भएको खेलमा रेन्जर्सले जर्मन क्लब आरबी लाइप्जिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ।

रेन्जर्स पहिलो लेगमा १–० ले पराजित भएपनि घरेलु मैदानमा भएको दोस्रो लेगमा समग्रमा ३–२ को जित निकाल्दै फाइनल पुगेको हो। घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे। लाइप्जिगका क्रिस्टोफोर एनकुकुले एक गोल फर्काए।

खेलको १९औं मिनेटमा जेम्स टाभेनिएरले गोल गर्दै रेन्जर्सलाई सुरुआती अग्रता दिलाए। २४औं मिनेटमा ग्लेन कामराले गोल गर्दै रेन्जर्सको अग्रता दोब्बर पारे। ७१औं मिनेटमा क्रिस्टोफोर एनकुकुले गोल गर्दै लाइप्जिगलाई खेलमा फर्काउने संकेत दिएका थिए। तर, ८१औं मिनेटमा जोन लन्डस्ट्रोमले गोल गर्दै रेन्जर्सको जित पक्का गरे।

अर्को खेलमा फ्रान्कफुर्टले इङलिस क्लब वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनायो। वेस्ट ह्यामले पहिलो लेगमा ३–१ को जित हात पारेको थियो।

दोस्रो लेगमा १० खेलाडीमा समेटिएको वेस्टह्यामविरुद्ध फ्रान्कफुर्टको जितमा पहिलो हाफमा राफयल सान्तोस बोरेले गरेको गोल नै निर्णायक बन्यो। उनले २६औं मिनेटमा अन्सगर नफको पासमा गोल गरेका थिए।

त्यसअघि १७औं मिनेटमा वेस्ट ह्याम १० खेलाडीमा समेटिन पुगेको थियो। आरोन क्रेसवेल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। ७८औं मिनेटमा प्रशिक्षक डेभिड मोएस पनि रातो कार्ड खाँदै टचलाइन छोड्नु परेको थियो।

अब रेन्जर्स र फ्रान्कफुर्टले उपाधिका लागि स्पेनमा १८ मेको राति प्रतिस्पर्धा गर्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सि डिभिजन लिगमा आरसी ३२ को जित, शीर्ष स्थानमा उक्लियो
Next post नेपालको खराब ब्याटिङ, जिम्बाबेविरुद्ध १३६ रमै अलआउट
Close