सुपर लिग जिवित रहेको दाबी गर्दै फ्लोरेन्टिनो पेरेजले भने- अणुबम प्रहार गरेजस्तै व्यवहार भयो

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बिहीबार युरोपियन सुपर लिग अझै जीवित रहेको दाबी गरेका छन्। पेरेजले सुपरलिगमा सहभागी हुने धेरै क्लबले नाम फिर्ता लिए पनि प्रतियोगिता जीवित रहेको बताएका हुन्।

इन्टर मिलान, एसी मिलान र एट्लेटिको म्याड्रिडसहित ६ इंग्लिस क्लबले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेपछि पनि पेरेजको आत्मविश्वासले भरिएको यो दाबी अगाडि आएको हो । प्रतियोगिताबारे आइतबार रातिमात्रै औपचारिक जानकारी आएको थियो, त्यसको ४८ घण्टामै यसको अस्तित्व लगभग समाप्त भएको थियो ।

स्पेनी रेडियो स्टेसन काडेना सेरसँगको अन्तर्वार्तामा पेरेजले सुपर लिग वास्तवमा अझै जिउँदै रहेको बताए । उनले भने, ‘हामीले अझै यो प्रतियोगितालाई लिएर काम गरिरहेका छौं । जतिबेला उपयुक्त समय आउने छ, त्यतिबेला यसबारे फेरि भन्ने छौं ।’ रियलसँगै बार्सिलोना र युभेन्ट्स अझै प्रतियोगितामा कायम छन् ।

‘यो निकै निराशाजनक स्थिति छ । हामीले यसबारे काम सुरु गरेको तीन वर्ष अगाडि हो । हामीले स्पेनी फुटबलको आर्थिक पक्षबारे संघर्ष गरिरहेको पनि त्यति नै समय भयो ,’ उनले भने, ‘तर अहिले हामीमाथि सबै खनिएका छन्, त्यो पनि आक्रामक ढंगले ।’

पेरेजले विशेषतः युरोपेली फुटबल महासंघका अध्यक्ष र केही देशका फुटबल संघका अध्यक्ष आफूमाथि निकै आक्रामक भएको आरोप लगाए । उनले भने, ‘केहीले निकै कडा आरोप लगाए, यसमा हामी आश्चर्यमा छौं । मैले यस्तो स्थिति आफ्नो जीवनमा कहिल्यै पनि देखेको छैन । हामीले फुटबल खेललाई नै मार्न खोजे जस्तो उनीहरूको व्यवहार छ, जबकि हामी फुटबल जोगाउन प्रयासरत छौं ।’

प्रतियोगिताको अबको स्वरूपमा परिवर्तन हुनुपर्नेमा सहमत हुँदै उनले प्रत्येक देशबाट चार टिम छनोट हुनुपर्ने नियम हुनसक्ने पनि बताए । उनले आफ्नो टिम खराब हुनुमा एक इंग्लिस टिम मुख्य रूपमा जिम्मेवार भएको दाबी गरे । उनले भने, ‘इंग्लिस फुटबलको एक समूहलाई युरोपेली सुपर लिगमा कुनै रूचि छैन ।’

उनले थपे, ‘युरोपेली फुटबल महासंघको व्यवहार कस्तो थियो भने हामीले अणुबम नै प्रहार गरेका थियौं जस्तो थियो । हामीलाई आफ्नो भनाइ राख्ने अवसर पनि दिइएन । खासमा यो प्रतियोगिता अहिले नहुने भएपछि हामीले धेरै गुमाएका छौं, आर्थिक रूपमा पनि ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.