क्लब फुटबलफुटबल

कसले जित्ला एफए कप उपाधि सिटी या युनाइटेड ?

एफए कपको उपाधि भीडन्त आज राति हुँदैछ। वेम्बलीमा राति ७ः४५ बजे हुने खेलमा उपाधिका म्यान्चेस्टरको दुई क्लब सिटी र युनाइटेड भिड्ने छन्।

प्रियिमर लिग उपाधि जितिसकेको सिटी यो पटक ‘ट्रेबल’ नजिक छ। च्याम्पियन्स लिगको फाइनलमा पनि पुगिसकेको सिटी वेम्बलीमा युनायटेडलाई हराउँदै ट्रेबलको नजिक पुग्न चाहन्छ।

यस्तो गर्नसके सिटीले सन् १९९९ मा युनाइटेडले हात पारेको दुर्लभ उपलब्धिको बराबरी गर्न सक्छ। सिटीले लागतार तेस्रो पटक इपिएल उपाधि जितेको छ।

यता, १२ वर्षअघि आफूलाई ‘ट्रेबल’ जित्नबाट रोकेको सिटीलाई रोक्ने युनाइटेडको दाउ हुनेछ। तर, निरन्तर उत्कृष्ट फुटबल खेलिरहेको सिटीलाई रोक्नु युनाइटेडका लागि त्यति सहज भने हुनेछैन।

सन् २०११ को एफए कप सेमिफाइनलमा यिनै दुई टिम भिड्दा यस्तो शक्ति समीकरण अकल्पनीय थियो । त्यतिबेला युनाइटेडले पाँच वर्षको अन्तरमा चौथोपल्ट इंग्लिस प्रिमियर लिग मात्र जितेन, युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको थियो ।

यो त्यही समय थियो, जतिबेला सर एलेक्स फर्गुसनको नेतृत्वमा युनाइटेडमा स्वर्णिम समय चलिरहेको थियो । अनि यो त्यही समय थियो, जतिबेला सिटी आफैं युनाइटेडको छायाँमा थियो ।

तर, सन् २००८ मा दुबईका शेख मन्सुरले सिटीको स्वामित्व किनेयता सिटी इंग्लिस फुटबलको वास्तविक शक्ति भएको छ । टिमले नयाँ उत्कृष्ट खेलाडी किन्नका लागि करोडौं डलर खर्चेको छ।

सन् २०११ को त्यस सेमिफाइनलमा युनाइटेडलाई हराएयता सिटीले १५ ठूला उपाधि जितिसकेको छ । त्यसमा सात प्रिमियर लिगकै उपाधि पर्छन् ।

अहिले सिटी पेप ग्वार्डिओलाको नेतृत्वमा छ र टिमले अझ नयाँ उचाइ छोएको छ । पछिल्ला ६ सिजनमा सिटीले पाँचपल्ट लिग जितेको छ ।

यता एरिक टेन हागको नेतृत्वमा युनाइटेड आफैं पनि ब्युँझिने प्रयासमा छ । लिगमा तेस्रो आएको युनाइटेडले यसपल्ट लिग कप पनि जितेको छ। शनिबार यही युनाइटेडले एफए कप फाइनलमा सिटीलाई हराउने हो भने त्यसले एक अर्को नयाँ सन्देश दिन सक्छ।