ए डिभिजन लिगफुटबल

लिगको अन्तिम खेल नखेल्ने खुमलटारको घोषणा

ए डिभिजन लिगको पुछारमा रहेको एफसी खुमलटारले लिगेको अन्तिम खेल नखेलने घोषणा गरेको छ। रेलिगेशन जोनमा रहेका टिमहरूको खेल एकै समयमा गर्नुपर्ने आफ्नो माग सम्बोधन नभएपछि खुलटारले शुक्रबार विज्ञप्ति निकाल्दै लिगको अन्तिम खेल नखेल्ने घोषणा गरेको हो।

खुमलटार २७ अंकसहित लिगको पुछारमा छ। ऊसहित फ्रेन्ड्स, एपिएफ, थ्री स्टार रेलिगेसन दबाबमा छन्। यी २ टिम रेलिगेसनमा पर्ने निश्चित छ।

अन्तिम खेलमा खुमलटारले चर्च बोइज, थ्री स्टारले जावलाखेल युथ क्लबसँग खेल्दा फ्रेन्ड्स र एपिएफ आपसमा भिड्ने छन्। खेल प्रभावित हुन सक्ने भन्दै खुमलटारले यी तीन खेल एकै समयमा खेलाउन एन्फालाई पत्र लेख्दै माग गरेको थियो।

तर, एन्फाले कुनै जवाफ नदिएपछि खुमलटारले लिगको अन्तिम खेल नखेल्ने निर्णय गरेको हो।

‘लिगको अन्तिम चरणमा रेलिगेसनका लागि लडिरहेका टोलीहरुको खेल फिफा फेयर प्ले अनुसार एकै दिन एकै समयमा खेलाउन माग गर्दै पत्राचार गरिए पनि अहिले सम्म त्यसको जवाफ नआएकाले नेपाली फुटबलको संरक्षक (एन्फा) नै स्वच्छ खेल होस भन्ने चाहनामा नभएको अनुभुती हामीलाई भयो,’ खुमलटारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले लिगको अन्तिम खेल नखेल्ने जानकारी यसै पत्रमार्फत दिन चाहन्छौं।’

खुमलटारले आज शुक्रबार अन्तिम खेलमा चर्च ब्वाइज युनाईटेडसँग खेल्ने तालिका छ ।