विश्वकप छनोटमा इटाली विजयी हुँदा रोकियो स्पेन

इटालीले विश्वकपअन्तर्गत युरोपियन छनोटमा जित निकालेको छ। बिहीबार राति भएको खेलमा इटालीले उत्तरी आयरल्यान्डलाई २–० गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम इटालीले पहिलो हाफमा नै दुबै गोल गरेको थियो। इटालीका लागि डोमेनिको बेरार्डी र सिरो इम्मोबिलले गोल गरे। खेलको १४ औं मिनेटमा नै डोमेनिको बेरार्डीले गोल गर्दै इटालीलाई अग्रता दिलाए। ३८ औं मिनेटमा इम्मोबिलले गोल गर्दै इटालीलाई २–० गोलको जित दिलाए।

त्यस्तै, बिहीबार राति नै भएको खेलमा स्पेन भने ग्रिससँग १–१ गोलको बराबरीमा रोकिएको छ। पहिलो हाफमा नै बनाएको अग्रतालाई जोगाउन नसक्दा स्पेन बराबरीमा रोकिएको हो। खेलको ३३ औं मिनेटमा अल्भारो मोरटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। तर ५६ औं मिनेटमा ग्रिसले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरी खेलेको हो।

फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा इंग्ल्यान्डले फराकिलो जित हात पारेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरे । जेम्स वार्ड, रहिम स्ट्रर्लिङ र ओली वाट्किन्सले एक एक गोल गरे ।

त्यस्तै, अन्य खेलमा स्वीट्जरल्यान्डले बुल्गेरियालाई ३–१ ले, डेनमार्कले इज्रायललाई २–० ले, स्वीडेनले जर्जियालाई १–० ले र अल्बानियाले एन्डोरालाई १–० ले पराजित गरेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.